काठमाडौं। प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा र दिव्या रायमाझी स्टारर नेपाली चलचित्र ‘एक्टर’को छायाङ्कन सकिएको छ। निर्माता थमन भण्डारीका अनुसार नेपालमा हुने सबै छायाङ्कन सकिएको छ र एक गीतको छायाङ्कन भने केही समयपछि युरोपमा हुनेछ। पोखरा र काठमाडौंमा दुई चरण गरी ४५ दिनमा नेपालको छायाङ्कन समाप्त भएको हो।
यसको छायाङ्कन सकिएसँगै विदेश बिक्री पनि सुरु भएको छ। पहिलो चरणमा जापानमा चलचित्र बिक्री गरिएको छ। जापानको लागि खिमराज शाह नेतृत्वको म्याक्स इन्टरटेन्मेन्टले यसको प्रदर्शन अधिकार खरिद गरेको छ। निर्माता भण्डारीले जापानमा नेपाली चलचित्रलाई दिँदै आएको मध्ये उच्चतम रकममा बिक्री भएको दाबी गरे। यद्यपि उनले रकम भने खुलाउन चाहेनन्।
तिहारको अवसर पारेर कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुने यस चलचित्रमा अभिनेता प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक भूमिकामा देख्न सकिने बताइएको छ। दिव्याले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी छन्। चलचित्रमा सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको पनि अभिनय रहेको छ।
यो चलचित्र अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माणमा बनेको हो। यसका निर्माता थमन कुमार भण्डारी हुन् भने एनिस भुसाल सह-निर्माता र क्रियटिभ निर्माता मोती कार्की हुन्। राजन भुसालले निर्देशक गरेको चलचित्रका छायाकार नरेन्द्र मैनाली हुन्। राजनले पनि पहिलो पटक चलचित्र निर्देशन गरेका हुन्।