कोरियन भाषामै कोरियामा रिलिज हुँदै ‘गोर्खा वारियर’



काठमाडौं। गत ११ फागुनमा नेपालमा भव्य रूपमा प्रदर्शन गरिएको ऐतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ। यसको लागि चलचित्रलाई कोरियन भाषामा तयार गरिएको छ।

निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो चर्चा पाएको थियो। नेपाली भाषामा नेपालमा सफलतापूर्वक प्रदर्शन भएपश्चात् अन्य विभिन्न भाषामा विदेशमा रिलिज गर्न लागिएको हो। कोरियामा यो चलचित्रलाई प्रदर्शनको जिम्मा कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले लिएको छ।

कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको बताए। ‘गोर्खा वारियर’लाई पूर्ण रूपमा कोरियन भाषामै स्वरांकन सहित तयार गरेर रिलिजको लागि सो कम्पनीले कोरियन भाषामै फस्ट लुक्स पोस्टर पनि बनाएर सार्वजनिक गरेको छ।

चाम्सका अनुसार यस चलचित्रलाई कोरियाका सिनेमा हलहरूमा रिलिज गरिनेछ र त्यसपछि टेलिभिजन च्यानलहरूमा पनि प्रदर्शन गरिनेछ। सम्भवतः यसरी नेपाली चलचित्र पहिलो पटक कोरियन भाषामा स्वरांकन गरेर तयार गरिएको ‘गोर्खा वारियर’ भएको पनि निर्देशक चाम्सले दाबी गरे।

यो चलचित्र यसअघि नेपाली र अङ्ग्रेजीमा निर्माण भइसकेको छ। चलचित्रको पहिलो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर गत भदौमा लन्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा गरिएको थियो। उक्त हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनिसकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युबमा रिलिज नहुने पनि निर्देशक चाम्सले जानकारी गराएका छन्। चलचित्रको हिन्दी संस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिनेछ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङ लगायतको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu