पाँच वर्षपछि पर्दामा फर्कँदै पृथ्वीराज प्रसाईँ



काठमाडौं। अभिनेता पृथ्वीराज प्रसाईँ चलचित्र ‘डोली’को रिलिज भएको झन्डै पाँच वर्षपछि चलचित्र ‘ईश्वर’ मार्फत दर्शकहरूमाझ फर्किँदै छन्। निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा उनी ‘सागर’ पात्रको भूमिकामा देखिनेछन्। चलचित्र आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने छ।

“सागर एक लभर ब्वाई हो, जसको सुरुवातमा नेगेटिभ क्यारेक्टर हुन्छ किनभने उसको बुवा नेगेटिभ क्यारेक्टरको हुन्छन्। तर पछि सागर पोजेटिभ क्यारेक्टरमा बदलिन्छ,” पृथ्वीराज बताउँछन्। “‘ईश्वर’ पारिवारिक कथामा आधारित चलचित्र हो जहाँ म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु। गाउँमा नै मेरो प्रेम नायिका अनु शाहसँग हुन्छ।”

पृथ्वीराजले ‘ईश्वर’ मा काम गर्दा अनुभवलाई ‘ठिकै’ भएको बताएका छन्। “यसअघि गरेका चलचित्रहरूमा जति मेहनत गर्नु परेको थियो, यो चलचित्रमा त्यति धेरै मेहनत गर्नु परेन,” उनी भन्छन्। पृथ्वीराज र अनु शाहले केही म्युजिक भिडियोमा सहकार्य गरेका थिए, तर चलचित्रमा भने यो पहिलो हो। “भिडियोमा सहकार्य गरेकोले गर्दा यो चलचित्रमा काम गर्दा अप्ठ्यारो भएन। हामीले सजिलै आफ्नो काम पुरा गर्‍यौँ,” उनले भने।

‘ईश्वर’ मा पृथ्वीराजले निभाएको चरित्र उनले यसअघि गरेका चलचित्रहरू भन्दा फरक छ। “मैले यसअघि यस्तो क्यारेक्टर गरेका थिइन। निर्देशक राजु गिरीले मलाई फोन गर्नुभयो, स्क्रिप्ट पढें अनि सिधै सेटमा गएर काम सुरु गरेँ,” उनी सम्झिन्छन्। ‘डोली’ पछि कुनै चलचित्रको अफर नपाएको बताउने पृथ्वीराजले भने, “म काम खोज्न कतै गइनँ। आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ, घरमै बसेर व्यवसाय र जिममै समय बिताएँ। तर अफर आयो भने चलचित्रमा काम गर्छु भन्ने सोच थियो।”

अहिले पृथ्वीराजलाई कमेडी जनराको चलचित्रमा काम गर्ने इच्छा छ। “‘किस्मत २’ मा एक्सन, ‘मंगलम’ मा फ्यामिली ड्रामा र ‘वीरंगना’ मा एक्सन गरियो। ‘डोली’ मा एउटा फरक कन्टेन्टमा काम गरियो। अब कमेडी जनरामा काम गर्न मन छ,” उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu