घरज्वाइँः झरीको मौसमका बाबजुद आक्रामक व्यापार



काठमाडौं। प्रदर्शनको दोस्रो दिन चलचित्र ‘घरज्वाइँ’ले शनिवार बक्स अफिसमा आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताएका छन्। शुक्रवारदेखि नै सुखद सुरुवात गरेको यो चलचित्रले शनिवार थप शोहरू सहित व्यापारमा आक्रामकता प्रस्तुत गरेको हो।

शनिवार सार्वजनिक बिदा हुने भएकोले चलचित्रको व्यापारमा उत्साहपूर्ण आशा राखिने गरिन्छ। वर्षाको मौसमका बाबजुद रिलिज भएको यो चलचित्रको लागि शनिवार झरी नपर्दा व्यापारमा उल्लेखनीय फाइदा भएको छ। वितरक स्रोतले दुई दिनको व्यापार करिब डेढ करोड बराबरको रहेको अनुमान गरेको छ।

सामान्यतया असार-श्रावणमा झरी पर्ने भएकोले चलचित्र रिलिजको लागि जोखिम मान्ने गरिन्छ। चलचित्रका निर्माता जनक घर्ती मगरले आफूले वर्षाको समय भएता पनि चलचित्रमा रहेको ‘कन्टेन्ट’को विश्वास गरी रिलिज गरेको बताए। उनले रिलिजको चार दिन अगावै चलचित्रको प्रिमियर समेत गरेका थिए।

जिएम मूभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu