पूर्व मन्त्री गिरीद्वारा डा. शिव सुवेदीको गीत ‘म त तिम्रो हैन’ सार्वजनिक



काठमाडौं। प्रसिद्ध गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा गीतकार सङ्घ नेपालको आयोजनामा भएको एक कार्यक्रममा पूर्व कानुन तथा सङ्घीय मामिला मन्त्री पदम गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सो गीत संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रूपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्व मन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन’ भन्ने उक्त गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत/सङ्गीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’ सङ्गीत समाजका लागि अपरिहार्य कुरा रहेको बताउँदै सर्जक अनुकूल नीति निर्माणका पक्षमा आफू सधैँ उभिएको बताए। आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने उनको भनाइ थियो।

भूकम्प विद्यामा विद्यावारिधि गर्न स्विजरल्याण्ड गएका बेला भने आफू एक प्रतिभाशाली व्यक्ति विदेशमै हराउनेमा चिन्ता लागेको बताए। नेपाल फर्किएको थाहा पाएपछि गर्व महसुस भएको उक्त कार्यक्रममा उल्लेख गरे।

प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद रहेको बताइन्। उनले भनिन्, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रूपमा हामीले लागिरहेका छौँ । सर्जकका रूपमा डा शिवहरूको भूमिका छ।’ भूकम्प विद्यामा विद्यावारिधि गरेपछि लोक सङ्गीतलाई नै बिर्सिने चिन्ता लागिरहेका बेला नयाँ लोकदोहोरी गीत आउँदा आफू खुसी भएको समेत उनले उल्लेख गरिन्।

उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र वैकुण्ठ महतले समीक्षा गरेका थिए। गीतकार अधिकारीले लोक सङ्गीत मुटुको गीत रहेको बताए। उनले भने, ‘शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।’ त्यसै गरी अर्का समीक्षक बगरले डा सुवेदीका गीतमा सधैँ फरकपन भेटिने उल्लेख गरे। ‘लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ। यो त्यसैको निरन्तरता हो तर यसपल्ट सङ्गीतमा केही फरक आभास गरेको छु,’ उनले भने।

त्यस्तै समीक्षक महतले गीतकार डा सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसङ्गीतमा कायम राख्न सफल भएको बताए। जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाइ थियो। पहिलो गीत सार्वजनिक हुँदा आफू रेडियोकर्मी भएको स्मरण गर्दै उनले थपे, ‘म उहाँको पहिलो गीतबाट नै प्रभावित भएको थिएँ। त्यसपछि निरन्तर उहाँको संगीतयात्रा नियालिरहेको छु। हरेकपल्ट उहाँले झन्भन्दा झन् राम्रो कोसेली पस्किरहनुभएको छ।’

कार्यक्रममा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्। कार्यक्रममा अभिनेता कठायतले डा सुवेदीसँग पढाइ र सङ्गीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गरे। ‘हामी एमएस्सीसम्म सँगै पढ्यौँ । उहाँ मर्मस्पर्शी गीत लेख्नुहुन्छ, म त्यस्तै गीतमा अभिनय गर्नका लागि परिचित छु। त्यसैले हाम्रो सङ्गीतमा पनि सहकार्य जारी छ।’

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu