सुनसरीकी मधुसँग राजेश हमालको विवाह पक्का



rajesh-madhuअन्ततः राजेश हमालले विवाह गर्ने पक्का भएको छ । पहिले विराटनगर मोरङ हाल धरान सुनसरीकी मधु भट्टराईसँगको लामो अफेयर आगामी साता औपचारिक सम्बन्धमा परिणत हुन लागेको कुरा राजेश हमालले बताए । राजेश हमालले विवाह गर्दैनन् भन्ने धारणा बलियो हुँदै गएको स्थितिमा हमालको विवाह हुने निश्चित भएको हो । केही वर्षअघि पाँचतारे होटलमा आयोजित एक औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो ।

साप्ताहिकले ‘राजेशले फेला पारे गर्लफ्रेन्ड’ शीर्षकको समाचार प्रकाशन गर्दै उनी र मधुबीचको अफेयरलाई पहिलोपटक सार्वजनिक गरेको थियो । विवाहका बारेमा पटक-पटक अनेकन प्रश्नको सामना गर्दै आएका महानायक हमालका अनुसार आपसमा बलियो प्रेम र समझदारी भएकाले नै सही समयमा उनीहरूले विवाह मिति तय गर्न लागेका हुन् ।

दुई सयजति चलचित्रमा अभिनय गरिसकेका हमाल नेपाली चलचित्र हेर्ने र नहेर्ने सबैका प्रिय नायक हुन् । उनको स्टारडम सधैं उदाहरणीय मानिन्छ । उमेरमा केही अन्तर भए पनि राजेश र मधुबीच बलियो समझदारी छ ।

लामो समय एक्लो जीवन बिताएका हमाल अहिले गर्लफ्रेन्डसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन् । आफ्ना लागि उपयुक्त व्यक्ति फेला परेकाले मधुसँग वैवाहिक जीवन बिताउने सोच बनाएको हमालले साप्ताहिकसँग विशेष कुराकानी गर्दै जानकारी दिए ।

हमालका अनुसार आगामी बुधबार अर्थात वैशाख ३१ गते क्यान्डल लाइट डिनरमा उनले आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राख्नेछन् र मधुले उनको प्रस्ताव स्वीकार गर्दै सहयात्राका निम्ति ग्रिन सिग्लन दिनेछिन् । उक्त डिनरमा हमालले विवाह प्रस्तावसँगै आफ्नी प्रेमिकालाई आमाको चिनो प्रदान गर्ने बताइन्छभने त्यही विवाहको सम्पूर्ण कार्यक्रम पनि तय हुनेछ । विवाह ठूलो स्वरूपमा नगर्ने मान्यतामा दुवै प्रेमी-प्रेमिकाको मत मिलेको छ । उनीहरू आफ्ना निम्ति सहज हुने गरी सामान्य विधि पूरा गरेर नयाँ जीवन सुरु गर्न चाहन्छन् ।

उनीहरूको विवाह भने जेठ महिनाको दोस्रो साताभित्र सम्पन्न हुनेछ । विवाहका लागि राजेश हमालका दिदी-बहिनीका साथै अन्य आफन्तहरू अमेरिकाबाट नेपाल आउने क्रम सुरु भैसकेको छ । बुबा-आमा दुवैको निधन भैसकेकाले हमाल विवाहमा जसरी पनि दिदी-बहिनीहरूलाई सहभागी गराउने पक्षमा थिए भने दिदी-बहिनीहरू पनि एक्लो जीवन बिताइरहेका हमालको विवाह भएको हेर्न चाहन्थे । हमालकी एक दिदी नेपालमै छिन् ।

व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महानायक हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे । यद्यपि समय बित्दै गएपछि उनी विवाहका निम्ति आफू तयार भएको बताउन थाले । मधुसँगको सामीप्यतामा आफूले खोजेको ‘सोलमेट’ प्राप्त भएको अनुभूति गरेर नै महानायक हमाल वैवाहिक जीवनका निम्ति अग्रसर भएको बताउँछन् ।

आफ्नी प्रेमिकासम्बन्धी समाचार सार्वजनिक भए पनि उनले आफ्नो प्रेम सम्बन्धलाई नितान्त निजी र गोप्य राखे । यद्यपि केही सञ्चारमाध्यममा उनकी गर्लफ्रेन्डसम्बन्धी समाचार र तस्बिरहरू सार्वजनिक नभएका होइनन् । राजेशले विवाह ढिलो गर्नुमा ज्योतिषीको सल्लाह पनि एउटा कारण भएको बताइँदैं आएको थियो । ज्योतिषीले केही बाधा भएकाले सन् २०१४ वा विसं. २०७१ मा विवाह गर्न उपयुक्त भएको सुझाव दिएकाले पनि हमालले मधुसँग औपचारिक सम्बन्धमा गाँसिन केही ढिलाइ गरेका हुन् ।

श्रोतः कान्तिपुर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu