सगरमाथा आरोही लाक्पा शेर्पाको वृत्तचित्र नेपाली सबटाइटल सहित नेटफ्लिक्समा रिलिज हुने



काठमाडौं। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्न विश्वकै पहिलो महिला लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र रिलिज मिति तय भएको छ। ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षकको यो वृत्तचित्र आगामी जुलाई ३१ मा नेटफ्लिक्समा रिलिज हुन लागेको हो।

वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ। दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेशनमा परेकी निर्देशक लुसी वाकरको निर्देशनमा बनेको वृत्तचित्र मङ्गलवार अमेरिकाको न्युयोर्क सिटीको आईएफसी सेन्टरमा हलमा प्रिमियर गरिएको थियो। यसमा लाक्पाको सगरमाथा आरोहणको कथा मात्र नभई उनको जीवन सङ्घर्षको आरोह अवरोहलाई पनि जीवन्त तरिकाले प्रस्तुत गरिएको जनाइएको छ।

लाक्पाले १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले सन् २०२२ को मे १२ मा दशौंपटक सगरमाथाको आरोहण गरेकी थिइन्। उनी सन् २००० मा सगरमाथा आरोहण गरेर सफलताका साथ फर्कने पहिलो नेपाली महिला बनेकी थिइन्।

लाक्पा २० वर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी छन्। नेपालमा छँदा उनले गरेको सङ्घर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका पुगेपछि पतिबाट भोग्नुपरेको घरेलु हिंसा, उक्त हिंसा देखेकी छोरीले भोगेको मानसिक आघात लगायतलाई पनि वृत्तचित्रमा देखाइएको छ।

वृत्तचित्र प्रदर्शनपछि प्रश्नोत्तर कार्यक्रममा अमेरिकाबाट सञ्चालित नेपाली मिडिया खसोखासको प्रश्नको जवाफ दिदै लाक्पाले अर्को पटक पनि सगरमाथा आरोहणको प्रयास गर्ने बताएकी छिन्। उनले भनेकी छन्, “म इमानदारिताका साथ भन्न चाहन्छु कि म मेरो सगरमाथा आरोहणको रेकर्ड सहजै अरूलाई तोड्न दिन्न। किनकि मैले अरूका घरमा भाँडा माझेर, घर सफा गरेर यी रेकर्डहरू कायम गरेकी हुँ। त्यसैले मैले अर्को पटक पनि सगरमाथा आरोहणको प्रयास गर्नेछु।”

उनले अगाडि भनेकी छन्, “अब त मेरा छोराछोरीहरू हुर्किसकेका छन्। शिक्षित भइसकेका छन्। आफ्नो हेरचाह आफै गर्न सक्ने भइसकेका छन्। हिमालयहरू मेरा सबैभन्दा नजिकका साथीहरू हुन्। म उनीहरूबाट अलग रहन सक्दिन। बाल्यकालमा मैले कहिले पनि टेलिभिजन हेर्ने मौका पाइन। हिमालयहरू नै मेरा लागि टेलिभिजन रहे। हिमालयहरू नै मेरा नजिकका साथी रहे। हिमालयहरू नै मेरा विद्यालयहरू हुन्।” लाक्पाले धेरै महिलाहरूले अहिले सगरमाथा आरोहण गरिरहेको र आफ्नो पदचिह्न पछ्याएकोमा आफूलाई असाध्यै खुसी लागेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu