काठमाडौं। समीर भट्टले डेब्यू गर्ने नेपाली चलचित्र ‘१२ गाउँ’ आगामी दसैँमा रिलिज हुने भएको छ। आइतबार पोस्टर सार्वजनिक गर्दै बिराज भट्टको निर्देशनमा बनिरहेको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको हो।
चलचित्रका प्रमुख कलाकार बिराजका आफ्नै छोरा हुन्। उनले सन्तोष सेनको निर्माणाधीन मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनय गर्ने खबर बाहिरिएपछि समीरको थप चर्चा भएको थियो। समीरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका छन्।
यही चलचित्रबाट न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन्। यसमा बिराज, समीर, न्यान्सी र सनिशाका अलावा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जङ्ग शाही, भीष्म जोशी, सुलेमान शङ्कर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ।
बिराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको जनाएका छन्। यस चलचित्रको १० दिनमा छायाङ्कन सकिने बताइएको छ।
बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र नीरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। यसमा बिराजको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ।