निर्देशक प्रधानले गरे पत्रकारलाई आक्रमण, पत्रकार सङ्घको आपत्ति



काठमाडौं। पत्रकार विकल श्रेष्ठमाथि नेपाल चलचित्रकर्मी महासङ्घ कोसी प्रदेशका अध्यक्ष तथा चलचित्र निर्देशक अरुण कुमार प्रधानले अभद्र व्यवहारसहित हातपात गरेपछि चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय समितिले आपत्ति जनाएको छ। त्यस्तै, चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश समिति सहित झापा शाखा, इलाम शाखा, सुनसरी शाखा र मोरङ शाखाले पनि ध्यानाकर्षण गराएका छन्।

चलचित्र पत्रकार सङ्घ कोसी प्रदेश शाखाका सह सचिव समेत रहेका श्रेष्ठले बिहीबार राती करिब ९ बजेको समयमा विराटनगरमा अवस्थित सिटी सिनेमा हलमा एक फिल्मको कार्यक्रम पछि प्रधानसँग अन्तर्वार्ता लिने क्रममा प्रश्न सोधेकै आधारमा प्रधानकी श्रीमतीले आपत्ति जनाएपछि भनाभन हुँदै हातपातसम्मको स्थितिमा पुगेको बताइएको छ। सो घटनाको भिडियो पत्रकार श्रेष्ठले सार्वजनिक गरेका छन्। सिसिटिभी फुटेजमा प्रधानले पत्रकार श्रेष्ठलाई हातपात गरेको देखिन्छ भने अन्यले छुट्टाउन खोज्दा पनि बारम्बार आक्रमण गरिरहेको देखिन्छ।

पत्रकार श्रेष्ठका अनुसार उनले अन्तर्वार्ताका क्रममा समसामयिक प्रश्न सोधेका थिए। प्रश्नहरू सोध्ने क्रममा प्रसङ्गवश कोसी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय आयोजक भएर केहीअघि सम्पन्न गरिएको ‘चलचित्र महोत्सव’को बारेमा प्रश्नहरू गरेको प्रति आफूमाथि भौतिक आक्रमण भएको पत्रकार श्रेष्ठको भनाई छ।

चलचित्र महोत्सवको व्यवस्थापकको रूपमा नेपाल चलचित्रकर्मी महासङ्घ र नेपाल चलचित्रकर्मी सङ्घ रहेको थियो। यी २ सङ्घबिच सो महोत्सव र यसको बजेट बाँडफाँडका विषयलगायत दुई संस्थाबिचको विवादको विषय लगायतको प्रश्न आफूले सोधेको श्रेष्ठले बताएका छन्। प्रश्नको प्रतिकारमा प्रधानकी श्रीमती उत्रिएको र यो घटना घटेको पत्रकार श्रेष्ठले बताए।

महासङ्घ अध्यक्ष प्रधानले भने पत्रकार सँगको प्रदेश समितिले जारी गरेको विज्ञप्ति माथि गम्भीर ध्यानाकर्षण गरेका थिए। उनले कपोकल्पित आरोप लगाएको बताएका थिए। सोही बिचमा श्रेष्ठले सिसिटिभी फुटेज सार्वजनिक गरेपछि घटनाको वास्तविकता बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu