निर्माताले खोले ‘जेरी अन टप’मा आना शर्मा नरहनुको कारण



काठमाडौं। छायाङ्कनको लागि तयार अवस्थामा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’मा अभिनेत्री आना शर्मालाई रिप्लेस गर्दै जसिता गुरुङ भित्रिएको खबर गत साताको ‘हट इस्यु’ बन्यो। अभिनेता अनमोल केसीसँग आना सहित आँचल शर्माले अभिनय गर्ने पक्का थियो। एकाएक आनाको स्थानमा जसितालाई ल्याइएपछि विभिन्न गसिपहरू बने।

यसैबिच सो चलचित्रका निर्माता सरोज न्यौपानेले यो विषयलाई लिएर आफ्नो टिममाथि लागेको आरोप सत्य नरहेको बताएका छन्। उनले फेसबुकमा आनालाई लगातार फोन गर्दा उत्तर नदिएको मोबाइल फोनको स्क्रिन सट शेयर गर्दै आफूले निकै ‘कम्प्रोमाइज’ गरेको र पटक पटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव रहेको बताएका छन्।

उनले लेखेका छन्, “मुख्यतः नायिकाको सवालमा उहाँलाई चलचित्र क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने मन र मूड नहुँदा बिरामी छु भनेर टार्दा पुग्ने, बिना सम्पर्क हराउने सोच्नु भएछ। एक पटक होइन पटक-पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै ‘कम्प्रोमाइज’ गर्दै आएको हो। पटक पटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव मसँग छ।”

उनले पोस्टरको लागि फोटोशुट गर्न स्टुडियोमा जाँदा आना नआएको र पटक पटक फोन सम्पर्क गर्दा कुनै प्रकारको जवाफ कारण नआई उनकी आमासँग कुरा गर्दा ‘रेडीमेड’ बिरामी परेको उत्तर पाएको कारण यो निर्णय गरेको बताएका छन्। “नायिका परिवर्तन गरेको जुन कुरा छ, एक हप्ता अगाडि देखिको तयारीका साथ पूर्वनिर्धारित मितिमा फिल्म युनिट ‘फस्ट लुक पोस्टर’ को छायाङ्कनको लागि बिहान ७ बजे स्टुडियोमा उत्साहका साथ पुगिराख्दा प्रमुख कलाकार नै उपस्थित हुनुभएन। पटक पटक फोन सम्पर्क गर्दा कुनै प्रकारको जवाफ आएन। म स्वयंले उहाँको आमासँग कुरा गरेँ। त्यही रेडीमेड उत्तर पाएँ। अन्ततः स्वघोषित बिरामी उहाँको सोसियल मिडिया स्टोरीमा हाम्रो टिम लाई हाइड गरिएको थाहा भयो। भोलि काम छ भनेपछि रातभर पार्टी गर्दै बस्न मिल्ने काममा आउन नमिल्ने ? सबै कुराहरू बाहिर आउँछ त्यो उहाँको विशुद्ध व्यक्तिगत जीवन हो धेरै हाम्रो भन्नू नि केही छैन, तर उहाँको व्यक्तिगत जीवन ले करोडौँ लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो ?” उनले प्रश्न गरेका छन्।

उनले निर्माताको हिसाबले एक मौका अझै दिनुपर्छ भन्ने लागेर आमा लाई १ बजेसम्मको समय सीमा दिएको र कुनै सुनुवाइ नभइसकेपछि बाध्य भएर एकल निर्णयले नायिका परिवर्तन गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu