नेपाल अफ्रिका चलचित्र महोत्सवमा अफ्रिकाको ‘फुल’ र नेपालको ‘गोर्खा वारियर’ उत्कृष्ट



काठमाडौं। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ ९ असार आइतबार बेलुका सम्पन्न भएको छ। महोत्सवमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए।

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा महोत्सवमा सहभागी चलचित्रहरू मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आइतबार साँझ यो महोत्सव सम्पन्न भएको हो। विजेताहरूलाई कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे।

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सवले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताए। उनले यो महोत्सवलाई राज्यबाट सहयोगको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

अभिनेत्री वसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफूले जितेको र  नेपालको एउटा राम्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको रूपमा आफूले यसलाई हेरेको बताइन्।

महोत्सवमा अफ्रिकाबाट सहभागी चलचित्रहरू मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका/मोजाम्बिया/जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ। महोत्सवमा उत्कृष्ट अफ्रिकन वृत्तचित्रको अवार्ड तान्जानियाँ/टर्कीको वृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त गर्‍यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हासिल गऱ्यो। महोत्सवमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हासिल गरे भने स्पेसल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त गर्‍यो।

नेपाली कथानक चलचित्र विधामा ‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र बन्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते। उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘सरी मम’बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, सङ्गीतकारको अवार्ड चलचित्र काँडेतारबाट दीपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गरे। उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड ‘काँचो बायु’बाट भिमा मैनाली र वृत्तचित्र छायाकारको अवार्ड ‘जर्नी टु गोक्यो’बाट राजन खरेलले प्राप्त गरे। आदिवासी चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘लोजिमा’ले तथा यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड विमला लिम्बु र सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे। उत्कृष्ट आदिवासी अभिनेताको अवार्ड चलचित्र ‘सनाखत’बाट धिरेन शाक्यले हासिल गरे। जुरी अवार्ड लिम्बु चलचित्र ‘रित’ तथा उत्कृष्ट निर्देशकको अवार्ड ‘रित’बाटै दिनेश लिङदेनले प्राप्त गरे। 

लघु चलचित्र तथा साङ्गीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको मातृत्वबाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायाकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु साङ्गीतिक चलचित्र सङ्गीतकारको अवार्ड शङ्कर थापा ‘स्माईल’ले हासिल गरे।

अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकविक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बङ्गलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए। नेपाली चलचित्र, आदिवासी चलचित्र तथा वृत्तचित्रको निर्णायकमा अभिनेता वीरेन्द्र हमाल, पत्रकार प्रदीप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए भने लघु चलचित्र तथा साङ्गीतिक लघु चलचित्र तर्फ निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडल द्वय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu