काठमाडौंमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु



काठमाडौं। विगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरु भएको छ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह आयोजनामा शुक्रवार बिहानबाट चलचित्र प्रदर्शनसँगै काठमाडौँ सुनधारास्थित सिने डी सेफ चलचित्र भवनमा सुरु भएको हो। यो महोत्सव शुक्रवारबाट ९ असारसम्म तीन दिन चल्ने छ।

शुक्रवार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै सुरु भएको यो महोत्सवको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सवको बुकलेट विमोचनबाट गरेका थिए। उद्घाटन समारोहमा महोत्सव समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरूलाई सम्मान समेत गरियो।

कार्यक्रममा बोल्दै अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यस कारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुस भएको छ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र प्रदर्शन हुँदै छन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आवश्यकता महसुस गरेर यो महोत्सव सुरुआत गरेको बताए। महोत्सवमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सवमा निःशुल्क देखाइने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति नदिने गरेको र राज्यले महोत्सवको लागि बजेट पटक्कै नछुटाएको उनले बताए। महोत्सवबारे क्षत्रले भने,‘आज १२ औँ संस्करणमा आइपुगेका छौँ । यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ। नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu