मेरिल्यान्डमा ‘नेपाल अमेरिका फिल्म फेस्टिभल’ सुरु



मेरिल्यान्ड (अमेरिका)। नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औँ संस्करण सुरु भएको छ। नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको संयुक्त राज्य अमेरिकाको यस राज्यमा चार दिने महोत्सव प्रारम्भ भएको हो। नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र मालदिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री अफरिन अख्तरले महोत्सवको उद्घाटन गरेकी हुन्।

पटक पटक नेपाल समेत पुगेकी अख्तरले चलचित्रले छरिएका विविधता र अन्तर सांस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एक अर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन्। समावेशी र खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागि अमेरिकाले सरकार मात्र नभएर चलचित्र निर्मातासँग पनि सहकार्य गर्ने बताइन्।

एएफआई सिल्भर थिएटर हलमा ओपनिङ चलचित्रको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भएको हो। यो चलचित्रका अभिनेता दयाहाङ राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिको खेलेको बताए। चलचित्र स्क्रिनिङपछि निर्देशक सुब्बा र अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेका थिए।

मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिति रहेको बताउँदै यस्ता फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ चलचित्रहरू स्क्रिनिङ हुनेछन्। महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो। महोत्सवमा सहभागी हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu