शुक्रवारदेखि ‘आचार्य’को पुनः प्रदर्शन, भजन शिरोमणिको जीवनी हेर्न पाइने



काठमाडौं। १३ वर्षअघि नै निर्माण भएर प्रदर्शन भएको नेपाली भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित बायोपिक चलचित्र ‘आचार्य’ शुक्रवारदेखि पुनः प्रदर्शन सुरु भएको छ।

आज विश्व सङ्गीत दिवस हो। दिवसको अवसर पार्दै गत फागुन १४ गते दिवङ्गत भएका भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले यो चलचित्र नेपालभरका हलहरूमा रिलिज गरेको हो। १३ वर्ष अघि प्रदर्शन हुँदा भक्तराज आफैले यो चलचित्र हेरेका थिए। हाल प्रदर्शनमा आएको संस्करणमा भक्तराजको निधनपछिका केही दृश्यहरू थप गरिएको छ। चलचित्रमा भक्तराजको साङ्गीतिक सङ्घर्ष, सफलता, पारिवारिक सङ्घर्ष, दुर्घटना तथा रोगको सिकारका बारेमा चलचित्रमा प्रस्तुत गरिएको छ।

प्रशान्त रसाइलीले निर्देशन गरेको यस चलचित्रमा भक्तराजका जेठा छोरा गायक सत्यराजले पिताको आचार्यको भूमिका निर्वाह गरेका छन्। यसमा अरुणा कार्की, सुनिल पोखरेल, सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीले समेत अभिनय गरेका छन्। यसका निर्माता रोशन राई हुन् भने देवजंग थापाले चलचित्रको पुनः सम्पादन गरेका छन्।

रिलिजको पूर्व सन्ध्यामा चलचित्रको बिहीबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको थियो। प्रिमियरमा सेलिब्रेटी, सञ्चारकर्मी र राजनीतिक दलका नेताहरू सहभागी थिए। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतम, सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, गायकहरू ओमविक्रम विष्ट, यम बराल, नवीन के भट्टराई, धिरज राई, गायिकाहरू मिरा राणा, आनी छोइङ डोल्मा,निशा देसार, प्राश्ना शाक्य, अभिनेता सुनिल थापा लगायतले प्रिमियरमा चलचित्र हेरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu