चलचित्र ‘रुमानी रङ्ग’का निर्देशक योञ्जन बाहिरिए, भन्छन्, “निर्मातासँग समस्या पर्‍यो”



काठमाडौं। छायाङ्कनमा नजाँदै नेपाली चलचित्र ‘रुमानी रङ्ग’ लफडामा परेको छ। ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुने भनिएको यो चलचित्रबाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन्।

मङ्गलवार सामाजिक सञ्जालमा एक वक्तव्य लेख्दै योञ्जनले यो चलचित्रबाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्। उनले लेखेका छन्, “धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ। मैले आधिकारिक रूपमा यो परियोजनाबाट २ जुनमा राजीनामा दिएको थिएँ। मेरो राम्रो प्रयास र प्रतिबद्धताका बाबजुद चलचित्रको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरू देखे पछि, जुन मुख्यतया निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले उत्पन्न भएका थिए। यी समस्याहरूले ढिलाइ निम्त्याएको थियो र चलचित्रको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखे पछि मैले राजीनामा दिएको हो।”

उनले यो चलचित्रबाट आफ्नै चाहनाले बाहिर रहेको उल्लेख गरेका छन्। उनले आफूलाई आफ्नै निर्णयले निराश बनाएको पनि बताएका छन्। उनले निर्माताहरूले नयाँ निर्देशक खोज्न समय मागेको हुनाले जुन २ मा नै राजीनामा दिएको भएता पनि ढिला सार्वजनिक गरेको बताएका छन्।

ठुलोपर्दासँग कुरा गर्दै योञ्जनले यसको कथा र अवधारणा निर्माताकै रहेको बताए। यद्यपि उक्त कथाबाट आफूले विकास गरेको स्क्रिप्ट भने आफैसँग रहने बताए।

यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिका रहने छ। वैशाखको पहिलो साताबाट फ्लोरमा जाने भनिएको यो चलचित्रको ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुने र बाँकी १० प्रतिशत नेपालमा हुने बताइएको थियो। यो चलचित्रका प्रस्तुत कर्ता जिएम ठकुरी हुन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu