‘बोक्सीको घर’का निर्देशकले लगाए निर्मातालाई गम्भीर आरोप, भन्छन्, “बौद्धिक चोरी भनेको के हो ?”



काठमाडौं। चलचित्र रिलिजको सफल ५१ दिन मनाएको नेपाली चलचित्र ‘बोक्सीको घर’का लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई निर्माता पक्षले वास्ता नगरेको बताएका छन्। उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो चलचित्र नितान्त आफ्नो कृति रहेको र निर्माता पक्षले यसमा ध्यान नदिएको बताएका हुन्।

उनले लेखेका छन्, ” यस चलचित्रमा मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु। यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ। यी मेरा प्रश्नहरू हुन कसैप्रति आक्षेप भने होइनन्। प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो। यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन्। “काम गर्ने कालू माम खाने आलु” के यो उखानले सार्थकता राख्छ? यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनु ले के प्रश्न खडा गर्छ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?”

उनले आफ्नो सृजनाको हिसाबले हेर्दा सर्जकको मृत्यु भएको अनुभव गरेको बताएका छन्। उनले भनेका छन्, “म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वाभाविक हो? जसले जे काम गरेको छ त्यसको उचित मूल्याङ्कन हुन पनि जरुरी छ वा छैन? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र?”

सुलक्षणले बौद्धिक चोरीको बारेमा पनि बोलेका छन्। “बौद्धिक चोरी भनेको के हो? ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र हो? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने? दर्शक र सर्जक बिचको पुल भनेको अहिलेको समयमा सञ्चार माध्यम हो। यश विषयमा कसले ध्यान दिन? एउटा सर्जक र उसको कामको मूल्याङ्कन के आवश्यकताको विषय होइन र?,” उनले भनेका छन्।

यस चलचित्रमा सुलक्षण स्वयं अभिनेत्री केकी अधिकारीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। यसमा केकी र सुलक्षण सहित रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सेबिता अधिकारी आदिको अभिनय छ। चलचित्रमा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता छन्।

फोटोः बद्रि थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu