रिलिज भयो नयाँ नेपाली चलचित्र ‘बाटो’, हलमा एघार चलचित्रहरू



काठमाडौं। नयाँ नेपाली क्राइम-थ्रिलर चलचित्र ‘बाटो’ रिलिज भएको छ। यसको बुधवार भएको प्रिमियरबाट अब्बल प्राविधिक चलचित्रको प्रतिक्रिया प्राप्त गरेको थियो।

काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको यस चलचित्रका निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन्। दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले अब्बल काम देखाएका छन्। यस चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ। नेपालीसँगै तमिल, तेलुगु र हिन्दी गरी चार वटा भाषामा यो चलचित्र बनेको छ।

दक्षिण भारतीय फिल्मका शरण ऋषिले छायाङ्कन गरेको यो चलचित्र करिब २ वर्ष अगाडि नै तयार भइसकेको थियो। यसको प्राविधिक काम धेरैजसो दक्षिण भारतमा गरिएको छ।

यो चलचित्रसँगै यति बेला नेपालका हलहरूमा एघार वटा चलचित्र प्रदर्शन भइरहेका छन्। यसमा ६ वटा विदेशी र ५ वटा नेपाली छन्। नेपाली चलचित्र‘बाटो: रोड टु डेथ’तथा भारतीय चलचित्र‘चन्दु च्याम्पियन’ र  हलिउड चलचित्र‘द वाचर्स’ यो साता  रिलिज भएका हुन् । जेठ १० गते रिलिज भएका दुई नेपाली चलचित्रहरू ‘पूजार सार्की’ र  ‘फर्की फर्की’हलमा चलिरहेका छन् भने गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ पनि प्रदर्शनमा छन्। त्यस्तै, हलिउड चलचित्र ‘ब्याड बोइज’ तथा भारतका ‘मुन्ज्या’ र ‘मिस्टर एन्ड मिसेज माही’ र कार्टुन चलचित्र ‘हाइक्यु’ प्रदर्शनरत छन् ।

साथै, आठौँ हप्तामा प्रवेश गरेको नेपाली चलचित्र ‘बोक्सीको घर’ पनि काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा प्रदर्शनरत छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu