दान्भी मेरो लागि रिस्क फ्याक्टर हो: पुजा शर्मा



काठमाडौं। असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’ एक्सन प्रधान चलचित्र हो। यसको प्रमुख भूमिकामा अभिनेत्री पुजा शर्मा छन्। उनले आफ्नो चलचित्र यात्रामा पहिलो पटक यस प्रकारको भूमिका निर्वाह गरेकी हुन्।

पुजाले यो चलचित्रको लागि एक महिना जति द्वन्द्व प्रशिक्षण लिएकी थिइन्। यद्यपि उनले आफ्नो लागि यो चलचित्र ‘रिस्क फ्याक्टर’ रहेको बताउँछिन्। “दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो। किनभने मैले यो जनरामा आजसम्म काम नै गरिनँ। सधैँ प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गरौँ भनेर मैले दान्भी गरेकी हुँ। यो चलचित्र गर्दा मैले विशेषतः एक्सन सिक्न पाएँ। ममा एक्सनको ज्ञान शून्य नै थियो तर, दान्भीको कामले धेरै कुरा सिकायो,” पुजा भन्छिन्।

उनले यो चलचित्र हेरेपछि दर्शकले ‘ओहो’ भन्ने दाबी गरिन्। “हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ। एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ तर, यसमा प्र्याकटिकल एक्सन छ। दर्शकले ‘ओहो’ भन्नुहुनेछ,” उनले भनिन्।

यसको टिजर र ट्रेलर रिलिज भएपछि उनको एक्सन अवतारको तारिफ र आलोचना बराबर भयो। उनी आफ्नो कामले आलोचना पाउँदा उनी केही दुःखी पनि बनिन् तर, उनी यो चलचित्रबाट आशावादी छन्। ‘यो बन्दुक अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला। नेपालमा यस्तो गर्‍यो भन्ने हुन्थ्यो तर, एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनेँ। मैले गन बोकेको छु, म गन सँग डराउने होइन नि त खासमा। मैले अरूलाई हानेको छु। म गन सँग इजी हुनु हो नि। तर मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन छैन मात्र भने,” पुजाले चित्त दुखाइन्।

भविष्यमा पनि एक्सन भूमिकामा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिज पछिको प्रतिक्रियाले टुङ्गो लगाउने उनले बताइन्। “मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु। अहिले मलाई एक्सन चलचित्रकै अफरहरू आइरहेको छ। दान्भीको प्रतिक्रिया नआईकन म अरू एक्सन फिल्मको कुरै गर्दिनँ,” उनी भन्छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu