कलाकार सङ्घद्वारा ‘कलाकार र आमसञ्चार’ विषयमा विचार गोष्ठी सम्पन्न



काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले ‘कलाकार र आमसञ्चार’ विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार काठमाडौंमा आयोजित गोष्ठीका वक्ताहरूले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल गरेका छन्। नेपाली चलचित्र उद्योगको विकास र कलाकारहरूको सामाजिक जिम्मेवारीबारे सचेतना फैलाउने उद्देश्य सहित सो गोष्ठीको आयोजना भएको थियो।

कार्यक्रमका सभापति नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यक्रमको महत्वबारे चर्चा गरे। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अभिनेत्री तथा नेपाल चलचित्र कलाकार सङ्घकी संरक्षक वसुन्धरा भुसाल थिइन् भने विशिष्ट अतिथिहरूमा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द थापा, नेपालको पहिलो रङ्गिन चलचित्र ‘कुमारी’की नायिका चैत्य देवी सिंह र कलाकार सङ्घका सल्लाहकार वरिष्ठ अभिनेता शिव श्रेष्ठको उपस्थिति कार्यक्रमको गौरवपूर्ण पक्ष रह्यो।

गोष्ठीमा वक्ताको रूपमा वरिष्ठ साहित्यकार, चलचित्र निर्देशक तथा कानुनका अध्यापक राजेन्द्र शलभ, तीन दशक बढी चलचित्र पत्रकारितामा बिताउनुभएका वरिष्ठ चलचित्र पत्रकार कृष्ण भट्टराई र वरिष्ठ सञ्चारकर्मी, निर्देशक एवम् कलाकार दिनेश डिसी थिए भने सहजकर्ता पत्रकार द्वय शान्तिप्रिय र जीवन पराजुली थिए।

यस विचार गोष्ठीमा कलाकार र आमसञ्चार बिचको सम्बन्धलाई सुदृढ बनाउने प्रयास, कलाकारहरूको सामाजिक र नैतिक दायित्वको महत्त्वबारे चर्चा, कलाकारहरूको आचार संहिताको आवश्यकता र यसले समाजमा पर्ने प्रभाव, कलाकारहरूले समाजप्रति पालना गर्नुपर्ने सामाजिक दायित्वहरूको चर्चा, सञ्चार सिपहरूको महत्त्व र तिनीहरूलाई गरिने उपयोग, कलाकारहरूले पालना गर्नुपर्ने मर्यादाको चर्चा, जस्तै सार्वजनिक स्थानमा व्यवहार, मिडियासँगको सम्बन्ध, आमसञ्चार माध्यम र कलाकार बिचको सम्बन्धको महत्त्व, मिडियाको जिम्मेवारी र यसले कलाकारको छवि निर्माणमा कस्तो भूमिका खेल्छ भन्नेबारे, कलाकार र मिडियाबिचको सम्बन्धलाई सुधार गर्न के गर्न सकिन्छ भन्ने सुझाव लगायतका विषयमा विमर्श भएको थियो।

वक्ता राजेन्द्र शलभले आचार संहिता र कलाकारहरूको सामाजिक दायित्वबारे गहन प्रस्तुति दिनुभयो। उहाँले कलाकारहरूले समाजमा उदाहरणीय भूमिका खेल्नुपर्ने र आफ्नो जिम्मेवारीलाई सजगतापूर्वक निर्वाह गर्नुपर्ने कुरामा जोड दिए। वक्ता कृष्ण भट्टराईले आमसञ्चार माध्यम र कलाकारहरूको सम्बन्धबारे चर्चा गर्नुभयो। उहाँले आमसञ्चार माध्यमहरूले कलाकारहरूको छवि निर्माणमा खेल्ने भूमिकाबारे विश्लेषण गर्दै दुवै पक्षले एक अर्कालाई सहयोग गर्नुपर्ने कुरामा जोड दिए। वक्ता दिनेश डिसीले कलाकारहरूको दायित्व, सञ्चार सिप र मर्यादाबारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्नुभयो। उहाँले कलाकारहरूको व्यावसायिक जीवनमा मर्यादाको पालना र प्रभावकारी सञ्चार सिपको महत्वबारे चर्चा गरे।

तीन वटा सत्रपछि प्रश्नोत्तर सत्रमा सहभागीहरूले विभिन्न जिज्ञासा राखे र वक्ताहरूले तिनको उत्तर दिए। कार्यक्रममा करिब २०० जना कलाकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। नेपाली चलचित्रसँग सरोकार राख्ने विभिन्न सङ्घ संस्थाका अध्यक्षहरू तथा प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। सोही कार्यक्रमको अवसर पारी कलाकार सङ्घद्वारा प्रकाशित २०८१ सालको भित्ते पात्रो विमोचन गरिएको थियो।

यो विचार गोष्ठीले नेपाली चलचित्र उद्योगमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। नेपाली चलचित्र उद्योगमा कलाकारहरूको भूमिका र सामाजिक जिम्मेवारीबारे महत्त्वपूर्ण सन्देश दिएको छ। विचार गोष्ठीले कलाकारहरूबिचको समन्वय र सहयोगलाई प्रोत्साहित गर्ने आशा गरिएको छ।

कार्यक्रमको समापनपछि ठुलोपर्दासँगको कुराकानीमा सङ्घका अध्यक्ष मोहन निरौलाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

फोटोः बद्रि थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu