काठमाडौं। दीपेन्द्र केसीले निर्देशन गरेको वृत्तचित्र ‘पचेडा’को ट्रेलर रिलिज भएको छ। केसीले ‘कथा भित्रका कथाहरू’ वृत्तचित्र शृङ्खला अन्तर्गत यो वृत्तचित्र बनाएका हुन्। यस वृत्तचित्रमा चेपाङ समुदाय अझै पनि किन जङ्गलमै बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथाको जवाफ खोज्ने प्रयास गरेको निर्देशक केसीले बताए।
“कुनै हरर चलचित्रको झल्को दिने भएता पनि यो वास्तविक कथा हो। वृत्तचित्रमार्फत सन्तलाल नामक व्यक्तिको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिस गरेको छु,” दीपेन्द्रले भने।
यस डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा रहेको छ। उक्त कथालाई दीपेन्द्रले तीन तालिका खिचेका थिए । उनी बसिरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँ बस्तीमा यो वृत्तचित्र छायाङ्कन गरिएको छ।
“मैले त्यहाँ वृत्तचित्र मात्र खिचिन, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ। उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ,” दीपेन्द्र भन्छन्, “मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो। किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन।”
वृत्तचित्र दीपेन्द्रसँगै विनीता क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्माता बालकृष्ण खड्गी हुन्। वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी रहेको बताइएको छ।
यसका निर्देशक केसीले ओस्कार कलेज अफ फिल्म स्टडिजमा निर्देशनमा स्नातक गरेका हुन्। उनले थुप्रै म्युजिक भिडिओको निर्देशन र चलचित्रहरूमा सह निर्देशन गरेका छन्।
ट्रेलर: