यस्तो देखियो ‘लन्डन टु पेरिस’को प्रिमियर



काठमाडौं। रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा नेपाली चलचित्र ‘लन्डन टु पेरिस’को प्रिमियर शो आयोजना भयो। उक्त प्रिमियरमा चलचित्र हेरेका अधिकांशले चलचित्र हेर्दा मज्जा आएको भन्दै प्रशंसामा शब्द खर्चिए। नेपाली चलचित्रको गुणस्तर वृद्धिको चर्चा प्रिमियर पछि भएको थियो। 

प्रिमियरमा आकर्षणको केन्द्र रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको कालो रङ्गको वान पिसमा बोल्ड अवतारबाट अतिथिको ध्यान आकर्षित गरेकी थिइन्। फेसनको मामलामा अब्बल यी अभिनेत्रीसँगै लेहेंगामा रहेकी अर्की अभिनेत्री गरिमा शर्मा पनि आकर्षक देखिइन्।

यही चलचित्रबाट अभिनयमा डेब्यु गरेका निश्चल खड्कालाई ‘फ्युचर स्टार’को रूपमा पनि कतिपयले प्रशंसा गरे। उनको दमदार आवाज र संवाद बोल्ने शैली धेरैले रुचाए। प्रतिक्रिया लिँदै निश्चलले भने, “मलाई सानैदेखि यसरी नै पर्दामा आफूलाई हेर्न मन लाग्थ्यो। पहिलो पटक आफैँलाई पर्दामा हेर्दा गहभरि भएँ । मलाई अझ राम्रो फिल्ममा काम गर्न मन छ। अझ राम्रो गर्न मन छ।” यही चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री गरिमा शर्माको पनि सुखद भविष्य रहेको प्रतिक्रिया प्राप्त भयो।

घनश्याम लामिछानेको निर्देशनमा बनेको यस चलचित्रमा प्रवासमा रहने नेपाली युवा युवतीको कथा उठाइएको छ। प्रदीप भारद्वाजले लेखेको यस चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबीर खड्का, गरिमा शर्मा लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu