‘गाउँ आएको बाटो’को प्रिमियरमा नेतादेखि कलाकारसम्म, प्रतिक्रिया उत्कृष्ट



काठमाडौं। यही शुक्रवारबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ। प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। नवीन सुब्बा निर्देशित यो चलचित्र हेरेपछि अधिकांशले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए। गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछन् अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सूक्ष्म तरिकाले देखाइएको उपस्थितले बताए।

एमाले सांसद रघुजी पन्तले सिनेमा निकै राम्रो बनेको र यस्ता सिनेमाले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथि परेको असरलाई सुन्दर ढङ्गबाट देखाइएको बताए। पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले आफू यही समुदायमा जन्मे हुर्केकाले पनि सिनेमाले छोएको बताए। नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको र विशेष गरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै सिनेमा निर्माण गर्न जरुरी रहेको बताए।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको सिनेमा हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए। अभिनेत्री केकी अधिकारीले गाउँ आएको बाटो दयाहाङ दाइको करियरकै उत्कृष्ट सिनेमा भएको बताइन्। यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाइ डिग्री माइलाको भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन्।

पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सिनेमाले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन्। यस्तै अर्की अभिनेत्री दिया मास्केले सिनेमा हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन्। सिनेमाको कथावस्तु र कलाकारकारको कामले आफूलाई निकै छोएको उनको भनाई थियो।

अभिनेता नजिर हुसेनले गाउँ आएको बाटोमा दया दाइले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए। अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुस गर्न पाएको बताइन्। अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफू गाउँमा नबसेको भए पनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई सिनेमा हेरेर महसुस गरेको बताइन्।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र हेर्दा निकै मज्जा आएको बताइन्। एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन्। यस चलचित्रकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो सिनेमा हेरेर आफै रोएको बताइन्। सिनेमालाई नेपाली दर्शकले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रवारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन्।

अभिनेता दयाहाङ राई सिनेमालाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौँ। शुक्रवारबाट विशेष गरी दर्शकमाझ जाने भएकाले पनि नेपाली सिनेमाका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतीक्षा रहेको सुनाए। विदेशी दर्शकले रुचाएकाले पनि सिनेमाले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu