मैते, मेघराज, पुजार र म्याडी



शङ्कर धिताल।
यो नामको शृङ्खलाले कोही पनि पात्रलाई अर्को कोही भन्दा अगाडी वा पछाडि राख्न खोजिएको छैन। लेखकलाई एउटा न एउटा शृङ्खलामा राख्नु थियो, यो शृङ्खलामा राख्यो। पाठकलाई जुन शृङ्खलामा पढ्नु छ त्यही शृङ्खलामा पढ्ने छुट प्रदान गरिएको छ। यी चार पुरुषको नाम पढ्दा लाग्छ यो लेखक पनि पितृसत्तात्मक सोचबाट ग्रसित छ। नत्र भए यसले किन सायरा, सुजी, गौमाया या मैयाको नाम लिन सकेन? सायद लेखक त्यही मानसिकताबाट ग्रसित छ।

अहिलेलाई शीर्षकमा केन्द्रित रहौँ।
‘मैते’ लेखेको पढ्न जानेको छ। यदि यो लेख पनि पन्चेहरूसँग लुकेर पढिरहेको भए भन्दो हो “ओख्खो! क्यार्न मेरा बारेमा दुनियाँलाई फुक्दै हिँड्या छौ? बरु मेरो ब्या अराइदेऊ।” तर के गर्नु मैते, तैँले देखेकै छस् दुनियाँको कानमा गजो कोच्या छ। तैँले बजाएको बिहेको दमाहा सुन्ने वाला छैन कसैले। यसमा न तेरो दमाहाको दोष छ न त तेरो मायामा कुनै स्वार्थ लुकेको छ। तेरो माया त पूर्णिमाको जुन झैँ झलमल र शीतल छ तर यो समाजको मन भने खोले पकाउने कुँडेको पिँध भन्दा पनि कालो भइसकेको छ। ती मगरलाई मात्रै नदोष मैते! तेरो दोषी यो पुरै समाज हो। म हुँ। मेरो वर्ग हो। अर्का दोषी तेरा जँड्याहा बाउ हुन्। आखिर तैँले त्यही घाम डुबे पछिको कथा सुन्न चाहिस्, उनी घुरमैलो घुरमैलो सम्झना छ भन्दै सधैँ टारिरहे। अहिले सायद ती बाउलाई सम्झना आयो होला? तर तँ नसुन्, उनले भन्न खोजे भने पनि नसुन् ! आखिरी सुनेर के गर्छस् ? गौमायालाई भन्दा धेरै माया गरेकी तेरी आमालाई छोडेर जान्छस्? त्यसैले नसुन् ती जँड्याहाका कथा, नखोज् त्यो आधा घाम डुब्दै गरेको बेला देखिएको चौतारी।

एक जना ‘मैते’लाई मैले गोसाईंकुण्ड जाँदा बाटोमा भेटेको थिएँ। उकालोमा कसैले भेट्न नसक्ने गरी दौडिन्थ्यो। आफ्ना पिडालाई यसरी भन्थ्यो, मानौँ त्यो कुनै ठट्टा हो। हामी हाँसौँ कि दुख व्यक्त गरौँ, धर्मसंकटमा सुनिरहन्थ्यौँ। गल्दैन थियो मैते जति दौडिए पनि, उसको भाकल जो पुरा हुने वाला थियो। गौमायासँग बिहे गर्ने भाकल। साह्रै खुसी भएर तिन डुबुल्की हानेको गोसाईंकुण्डको ठिहिराउने पानीमा। चोखिएर घर पुगेर बिहे गर्ने हो भन्दै दौडिएको थियो ओरालो। गाउँ पुग्दा त्यसकी गौमाया घरमा थिई थिइन ? उत्तर पाउनै सकिएन। त्यस्ता कैयन मैतेहरू पनि याद छन्, बेलाबखत भेटिने गरेका।

समाजले तँसँग सिक्नुपर्छ मैते प्रेमलाई कसरी अभिव्यक्त गर्ने भनेर। आफ्नो प्रेम पाउन कुन हदसम्म लड्ने भनेर। तर यो समाज तेरा कुराबाट परिवर्तित हुन चाहन्न, बरु तँलाई नै परिवर्तित गर्न चाहन्छ। म पनि तँलाई पुजार वा मेघेजीले जस्तै आश्वासन दिलाउन चाहन्न बरु तँलाई भोलीको त्यो सुनौलो घामको कल्पना गराउन चाहन्छु, जुन घामले समाजका सबै तह र तप्काका मानिसहरूमा एकै साथ न्यानो छर्नेछ र सबैको मनको चिसोलाई न्यानोपनको आभास गराउने छ। “ओख्खो ! गजाप कुरो दाजै।” भन्दै जसका कुरामा पनि ताली बजाउन हतार नगर्।

नेतामा भावनाको बोझ हुनुहुँदैन। यत्रो ठुलो आदर्श नबोके पनि नेतृत्वमा पुग्ने क्षमता भने राख्छ। आखिर खत्री भइकन पनि कथित तल्लो जातीको सम्पूर्ण विश्वास आर्जन गर्न सकेको मान्छे हो मेघराज। आँटिलो र जोसिलो। नुनको सोझो गर्न आएरै होला मेघराज पछाडि परेको। ऊ जस्ता नेता देशले पाउनुपर्ने तर ऊ जस्ता त पार्टीका स्वार्थमा प्रयोग हुँदै आएका छन्। तब सम्म जब सम्म उनीहरू भित्रको जोसलाई पार्टीले चुसेर खोक्रो बनाई छाड्नेछ। आफू रित्तिएको महसुस मेघराज जस्ताहरूले तब मात्र गर्छन् जब उनीहरू फ्याँकिएर भुईँमा पछारिन पुग्छन्। यो सधैँको रित हो।

मेघराजमा उदाहरणीय उदारता छ। उनलाई समाजले एक्लायो। जसलाई आफ्नो मानिन्छ त्यो सबैसँग छुटायो तर पनि उनी समाजका लागी लड्दै छन्। परिस्थितिले उनलाई यसरी एक्लायो कि उनी समाजबाट किनार लागेर समाज भित्रै बसी लडिरहेका दुई योद्धाहरूको सङ्घर्ष र अवस्थालाई टुलुटुलु हेर्न बाध्य भए। मेघराजलाई भावनात्मक हुने छुट छैन, त्यो रात पनि थिएन, अब पनि छैन र कहिल्यै पनि हुने छैन। उनले केबल अमिलो अनुहार लगाउन पाउँछन् र चस्मा मिलाउन पाउँछन्। यस्ता मेघराज समाजलाई चाहिन्छ तर समाज तिनका कुरा सुन्न तयार छैन। उनी एकोहोरो “जातीय विभेद अन्त्य गर्” भन्दै चिच्याइरहन्छन् तर समाजलाई त्यसको कुनै प्रवाह छैन। ऊ त प्रहरी पठाउँछ र कोच्छ मेघराज जीलाई रानी पोखरीको चौकी भित्र। तर पनि तपाईँ हार नमान्नुस् मेघराज जी ! तपाईँको पक्षमा अबको पुस्ता छ। नयाँ पिँढी छ। तपाईँको नाराबाजीमा सहभागी हुन नगए पनि आ-आफ्नो ठाउँबाट सबैले जातीय विभेद अन्त्यका लागी आवाज उठाउने छन् र झकझकाउने छन् नवयुगका नयाँ पन्चेहरूलाई। 

पुजार जत्तिको बाठो मान्छे मैले कमै देखेको छु। पुजार जत्तिको लाटो मान्छे पनि मैले कमै देखेको छु। पुजार जत्तिको आँटिलो मान्छे मैले कमै देखेको छु। पुजार जत्तिको डरछेरुवा मान्छे पनि मैले कमै देखेको छु। पुजार जत्तिको बोलीको पक्का मान्छे मैले कमै देखेको छु। पुजार जत्तिको बोलीको टुङ्गो नभएको मान्छे पनि मैले कमै देखेको छु। पुजार जत्तिको प्रेमिल मान्छे मैले कमै देखेको छु र पुजार जत्तिको कठोर मान्छे पनि मैले कमै देखेको छु। 

पुजार बहु आयामिक छ। आखिर ब्राह्मण न पर्‍यो, त्यो पनि हरिद्वारमा पढेर आएको। पुजारलाई थाहा छ, उसले कति बेला कसरी के मिलाउनु पर्छ। कति बेला प्रेम र कति बेला घृणा देखाउनुपर्छ। कति बेला थकाई मार्नुपर्छ। यति धेरै कुरा थाहा भएको पुजार आखिर लाटो छ। लाटो भइकन पनि पुजार आँटिलो छ किनकि मैयाका लागी राइफलको अगाडी आफ्नो छाती लगेर टाँस्छ। मैयालाई दिएको कसम निभाउन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्छ पुजार, तर मैतेलाई दिएको बचन ? यहाँनेर उ निर्धो छ। बुवा, आमा र प्रेमिका तिनैलाई एकै पटक माया गर्न चाहने पुजार जत्तिको प्रेमिल अरू को हुन सक्ला र ? पुजार कति चिजले घेरिएको छ। कति ज्ञानले भरिएको छ। कति जिम्मेवारीले बाँधिएको छ। कति शास्त्र रूपी दाउराले समाज रूपी भट्टी भित्र होमिएर, पोलिएको, डढेको छ। तर पनि हेर्नुस् त ! पुजार चिच्याएको छैन चुपचाप छ। मौन छ।

म्याडी समाजको एउटा यस्तो पात्र हो जो माधवबाट म्याडी बन्ने चक्करमा गल्तीहरूको शृङ्खलालाई दोहोराइरहेको छ। म्याडीको मनस्थिती, विचार र समाजलाई हेर्ने नजरलाई बुझ्ने हो भने उसले यस्तो वर्गलाई प्रतिनिधित्व गर्छ जसलाई सजिलै बाटोमा हिँड्दा हिँड्दै वा थान कपडा पसलमा सर्टको लागी कपडा छान्दा छान्दै भेट्न सकिन्न। ऊ आफूलाई समाजको उपल्लो वर्गमा राख्छ र यदाकदा आकल झुक्कल काठमाडौं वा पोखराको मूल सडकमा हुने जामहरूमा भने देखिन सक्छ। उसलाई भेट्नै निस्किनु भएको छ भने मध्यरात क्लबहरूमा मदहोस भएर हाँसिरहेको अवस्थामा भेट्न सक्नुहुन्छ। समयको यकिन गर्न नसकिए पनि एक देखी तिन बजेको समयमा त्यो पनि शुक्रवार र शनिवार बिचको रातमा। तिन बजे पछि भने यो म्याडी या त आफ्नो स्पोर्ट बाइकमा कसैको अँगालोमा बेरिएर निजी स्थान तिर गइरहेको हुनेछ वा गाडीको झ्याल ढोका बन्द गरेर पछाडिको सिटमा मच्चिरहेको हुनेछ। 

यसले समाजमा बसेर पनि सामाजिक हुन सकेको छैन। आफ्नै साथीको लागी आफ्नो हुन नसकेको म्याडी समाजको लागी कुन समयमा काम दिन्छ यकिन गर्न सकिन्न। हरेक म्याडीहरूको जीवनमा एउटा रातीको ह्यांगले भरिएको आइतबारको बिहानीमा हर्कमान गुरूंगको प्रवेश जरुरी छ जसले म्याडीलाई समाज देखाउन र बुझाउन मद्दत गरोस्। मिठो मुस्कान सहित गहन पिडा बोकेका हर्कमान गुरूंगले आफ्नो समस्या मुस्कुराउँदै तब सम्म सुनाउने छन् जब सम्म म्याडीले समाधानको प्रयास गर्नेछ। म्याडीलाई जस्तो भगवान् हुने श्राप यदि कोही ऐरे गैरे नत्थु खैरेले पाउने हो भने त्यसको कुनै उपयोग सायद त्यसले गर्न नसक्ला तर म्याडीले आफ्नो शक्तिको उपभोग यसरी गर्दै छ जसले गरेर म्याडी सामाजिक पनि हुन सकोस् र माधव बनी समाजको अमूल्य हिस्सा बनोस्। म्याडीले नबुझेको तथ्य माधवले बुझाउन सकोस् र समाज, इष्ट मित्र तथा महिला वर्गलाई पनि इज्जत दिन थालोस्। म्याडीले खडा गर्न खोजेको वर्ग वर्ग बिचको असन्तुलन माधवले भत्काओस् र इमानदारीताको पुल हालेर यो दुवै वर्ग बिचमा सञ्चारको विकास गर्न सकोस्।

म त्यो दिनको प्रतीक्षा गर्ने छु जुन दिन यी चारै पात्रहरूको भेट हुनेछ। म्याडीले मैतेलाई भन्दो हो “पर जा फोहोरी।” “मेरो रिस कडा छ विचार गरेर बोल” भन्दै मैते अलिक पर बस्दो हो। पुजार भने कसैलाई नचिने झैँ चुपचाप उभिइरहँदो हो। “यसरी वर्ग सङ्घर्ष गरेर हामी चाइने कमजोर हुने मात्रै हो,” भन्दै मेघराजले चित्त नबुझाउँदो हो। उनीहरू सबैले सँगै के खाँदा हुन्? मोही पिउँदा हुन् या ककटेल? सिजलर खाँदा हुन् या सेल रोटी? यिनीहरूको भेट पो कहाँ हुँदो हो? कस्तो ठाउँमा हुँदो हो? मेरो विचारमा यिनीहरूको भेट पोखराको लेक साइडमा रहेको वर पिपलको फेदमा हुनेछ जहाँ एक जना दाह्रीवाल विधाता मैलो कम्मल ओढेर पल्टिरहेका हुनेछन्। यिनीहरूको भेट कालरात्रि मै हुनेछ जति बेला बिजुली चम्किरहेको हुनेछ र मेघ गर्जिरहेको हुनेछ। “ओख्खो ! यो मौका एक चोटि गौमायालाई भेटेर आम्चु है दाजै?” भन्दै मैते उकालो दौडिँदो हो, मेघे जी क्रान्तिको नयाँ दिशा सोच्दो हो, पुजार समाजले गरेका शास्त्रका अपव्याख्याबारे घोत्लिँदो हो र म्याडी आफ्नै दुनियाँमा रमाउँदो हो।

यस लेखमा उल्लेख गरिएका पात्रहरू ‘मैते’, ‘पुजार’ र ‘मेघराज’ चलचित्र ‘पुजार सार्की’का पात्रहरू हुन् भने ‘म्याडी’ चलचित्र ‘फर्की फर्की’को पात्र हो। मैतेको भूमिका प्रदीप खड्काले निभाएका छन् भने पुजारको भूमिका आर्यन सिग्देल र मेघराजको भूमिका पल शाहले निभाएका छन्। त्यस्तै, म्याडीको भूमिका अनमोल केसीले निभाएका छन्। यी दुवै चलचित्रहरू जेठ १० गते एकै दिन रिलिज भएका थिए। घरेलु तथा ओभरसिज बक्स अफिसमा दुवै चलचित्रहरू सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu