काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको वितरण गर्दै आएको सेभेन सीज इन्टरटेन्मेन्टले बनाउने नेपाली चलचित्र‘पूर्णबहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन्। निर्माण कम्पनीले बिहीबार यसबारेमा आधिकारिक जानकारी दिएको हो।
पहिलो चलचित्र ‘बुलबुल’बाट चर्चामा आएका मुकुनले नयाँ चलचित्रमा पृथक् भूमिका रहेको जनाएका छन्। यो चलचित्रमा केही दिन अघि मात्र गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका थिए।
यो चलचित्रलाई महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। यसको कथा भने निर्देशक पौडेलको नै हो। यस चलचित्रमा गाउँ गाउँ सारङ्गी बजाउँदै गीत गाउँदै डुलिहिँड्ने गन्धर्वको कथा देखाइने छ। चलचित्रका लेखक दवाडीले सारङ्गीबाट समाजलाई सुसूचित र मनोरञ्जन प्रदान गर्ने एक पात्र पूर्णबहादुरको आँखाबाट बदलिँदो समाजको आयामलाई केलाउने जमर्को गरेको बताए।
चलचित्र वि.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। चलचित्रलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सीज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। यसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रूपमा छन् भने रमेश चौलागाईँ र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा अभिनय गर्ने अन्य केही कलाकारहरूसँग सम्झौता भइसकेको बुझिएको छ। यस चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन्।