काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रचारको नयाँ शैली अपनाएको छ। रिलिज मिति नजिक रहँदा चलचित्र हलहरूमा बोक्सी हराएको सूचना’ राखिएको छ।
हलको टिकट काउन्टर छेउमै डिजिटल स्क्रिनमा अभिनेत्री केकी अधिकारीको बोक्सी लुकमा ब्ल्याक एन्ड ह्वाइट फोटो राखिएको छ। सो स्क्रिनमा लेखिएको छ, “सावधान! बोक्सी हराएको सूचना। भेटिएका खबर गर्दिनु होला।” प्रचारको यो शैलीले दर्शकको ध्यान आकर्षण गरिरहेको छ।
केही समय अघि सार्वजनिक भएको यसको गीत ‘बुझिनँ मैले’ निकै चर्चामा छ। हाल सबैतिर ट्रेन्डिङ बनिरहेको यो गीतले ठुलो सङ्ख्यामा दर्शकको ध्यान केन्द्रित गराएको छ। केही दिन अघि अभिनेत्री अधिकारीले नेपाली सेलिब्रेटीहरुलाई चलचित्रको नाम अङ्कित केक कोसेली पठाएकी थिइन्।
यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ। यसमा केकी अधिकारी, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला, सुलक्षण भारती, स्वेच्छा राउत लगायतको अभिनय छ। केकी स्वयं प्रस्तुत कर्ता रहेको चलचित्रको निर्माता बद्री अधिकारी हुन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।