काठमाडौं। नेपाली चलचित्र ‘द रेड सुटकेस’को नेपाल प्रिमियर गरिएको छ। मङ्गलवार साँझ काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमा हलमा आयोजना भएको प्रिमियरमा यो चलचित्रले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।
प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्त, अभिनेत्री मिरुना मगर, साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, निर्देशक मीन भाम, अभिनेता प्रवीण खतिवडा, समीक्षक तथा निर्देशक प्रकाश सायमी, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति थियो। चलचित्र हेरेपश्चात् वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले अडियोग्राफी विधामा यो चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए।
यही शुक्रवार रिलिज हुने यो चलचित्रले संसारका चर्चित फेस्टिभलको चक्र पूरा गरेको थियो। यसै साता अमेरिकी टेलिभिजन एचबीओले युरोका १५ देशको लागि ओटीटी राइटको खरिद गरेको थियो।
मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरूको वर्तमान कथामा मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्र बनेको छ। यसको प्राविधिक काम श्रीलङ्का र भारतमा गरिएको छ।
फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्रले विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्डहरू जित्न सफल छ। चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ। सुशन प्रजापतिको छायाङ्कन र समन अलभितिगाको सम्पादन छ। जर्मनीबाट भिजुअल एन्थ्रोपोलपजी विषयमा विद्यावारिधि गरेका निर्देशक देवकोटाको यो पहिलो चलचित्र हो।
यो चलचित्र आइसफल प्रोडक्सनको प्रस्तुति, सिने संकिपासँगको सहकार्य र फिल्म काउन्सिल प्रोडक्शन्सको सह-निर्माणमा बनेको हो। रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको यस चलचित्रका सह-निर्माता श्रीलङ्काका विमुक्ति जयसुन्दरा हुन्।
जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ। यो चलचित्रको नेपाल वितरक आरआर फिल्मस हो।
फोटोः ट्राइडेन्ट कन्सेप्ट