पोखरा। साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ। र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारीले ‘ऋतु’ ले ज्ञानुका निबन्धले महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन्।
नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन्।
सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन्। निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन्।
कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा. ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गरेका थिए।
विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए।