काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘महाजात्रा’ले देशभरका हलहरूमा व्यापक रूपमा शो प्राप्त गरेको छ । मङ्गलवारको प्रिमियरसँगै बुकिङ खुल्ला भएपछि देशैभरका मल्टिप्लेक्स हल सञ्चालकहरूले अति विश्वास गरेको देखिएको छ ।
देशको सबैभन्दा ठुलो ‘थिएटर चेन’ क्यूएफएक्स सिनेमाजले मात्र झन्डै ७० शो उपलब्ध गराएको छ । बुकिङको आधारमा यो सङ्ख्या अझै बढ्ने अनुमान छ । देशभरका सबै मल्टिप्लेक्स हलहरूले करिब २ सय ५० शो उपलब्ध गराएका छन् । यो सङ्ख्या पनि थप हुनसक्छ ।
यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित छ । प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको छ ।
प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायतको प्रमुख भूमिका छ ।
ठुलोपर्दा डटकमका जीवन पराजुलीले यो चलचित्रले रिलिजको पहिलो दिन शुक्रवार करिब नब्बे लाख रुपैयाँको व्यापार गर्ने आकलन गरेका छन् ।
यस्तो छ पराजुलीको औसत आकलन:
शो सङ्ख्या : २५०
१ टिकट = औसतमा रु. ३००।- (रु. तीन सय)
१ शो = औसतमा १८० सिट
१ शो मा औसतमा १२० वटा मात्र टिकट बिक्री हुँदा: ३००X१२०= ३६,०००।- (रु. छत्तिस हजार)
एउटा शो बाट मात्र ३६,०००।- व्यापार हुँदा: ३६,०००X२५०= रु. ९०,००,०००।- (रु. नब्बे लाख)