महत्त्वाकाङ्क्षी सिरिज ‘खेल’को शुभमुर्हत, सुरक्षाको प्रमुख अभिनय



काठमाडौँ।
विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।

बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दै छिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौँ भित्र करिब एक महिना छायाङ्कन हुनेछ । निर्देशक प्रधानले एक सय वर्ष अगाडीको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन हुने बताए ।

विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको बताए । यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको बताए ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए । एक दशक अगाडी बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिट: द फर्स्ट केस’ ‘धक धक’ लगायतका चलचित्र तथा सिरिजमा सह निर्देशन गरेका छन् ।

सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, “अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।”

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लुइश राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu