खुल्ला मञ्चमा गीत खिच्दै ‘महाजात्रा’को इन्डक्ल्याप



काठमाडौँ। प्रचारको लागि तयार एक गीतको भिडियो छायाङ्कन गर्दै चलचित्र ‘महाजात्रा’को छायाङ्कन सकिएको छ। तीन दिनदेखि धुमधडाकाका साथ काठमाडौँको खुल्ला मञ्चमा छायाङ्कन भएको गीत बुधवार सकिएको हो।

खुल्ला मञ्चमा गीत मात्र होइन चलचित्रका अन्य दुई दृश्यहरू पनि एकसाथ खिचिएको थियो। ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा सङ्गीत बजिरहेको थियो भने खुल्ला मञ्चमा नेताको भाषा र चुनावी सभा थियो। गाउँघरको मेलाको झलक र झन्डा-ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य हेर्दा साँच्चिकै ‘महाजात्रा’को भान थियो।

गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन्। एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतको भिडियो छायाङ्कन भएको हो। यसलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

गीतमा सो चलचित्रका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पनि देखिन्छन्। चलचित्रमा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ ।

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेलको रूपमा ‘महाजात्रा’ बनाइएको हो। यसका निर्देशक प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन्। 

यो चलचित्र आगामी चैत ९ गते नेपालसँगै नेपालीहरूको बसोबास रहेका केही देशमा एकसाथ रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu