‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को २९औँ स्थापना दिवसमा नेपाल डेल्फिकको पनि सहभागिता



काठमाडौँ।
‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को २९ औँ स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा यसको नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ पनि सहभागी भएको छ । कला-संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धनका लागि सक्रिय गैरनाफामुखी सो संस्थाको शुक्रवार मध्यान्ह आयोजित कार्यक्रममा प्रमुख संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलसहित संसारभरमा करिब एक सय देशका च्याप्टरहरू सहभागी भएका थिए ।

डेल्फिक काउन्सिलले चलचित्र, सङ्गीतकला, ध्वनिकला, प्रदर्शनकला, एक्रोब्याटिक्स, भाषाकला र भाषणकला, दृश्यकला, हस्त शिल्प, सामाजिक कला, सञ्चार कला, वास्तुकला लगायतका अन्य विभिन्न कलाहरूलाई विभिन्न भागमा विभाजन गरी प्रवर्द्धन गर्दछ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका १५० भन्दा धेरै देशहरूमा आ-आफ्नै च्याप्टरहरू सक्रिय रहेका छन् । नेपालमा दुई वर्ष अगाडी यो संस्था स्थापना भएको हो । नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको आयोजना गरिरहेको छ ।

कार्यक्रमपछि नेपाल च्याप्टरका अध्यक्ष श्रीदेव बिएलले संस्थाको उद्देश्यमा प्रकाश पार्दै नेपालमा कलात्मक र सांस्कृतिक सम्पदाको विकास र संरक्षणमा सहजीकरण गर्ने स्पष्ट मिसनका साथ यस संस्थाले काम गरिरहेको बताए । “रचनात्मकता, नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानका मूल्यमान्यताहरूलाई प्रवर्द्धन गर्दै यो संस्थाले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने र त्यस प्रकारका कला, साहित्य तथा श्रृजानात्मक कामहरू संस्था आफैले पनि प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ”, बिएलले बताए ।

उपाध्यक्ष जीवन पराजुलीले नेपाल च्याप्टर इन्टरनेशनल डेल्फिक काउन्सिलको एक ठुलो ग्लोबल नेटवर्कको हिस्सा हो रहेको बताए । पराजुलीले भने, “यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकारहरू एवम् नेपाली संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्रदान गर्दछ, जहाँ उनीहरूले आफ्नो प्रतिभा र सांस्कृतिक सम्पदालाई व्यापक रूपमा प्रदर्शन गर्न सक्छन् । साथै, यो नेटवर्कको प्रयोग गरी विभिन्न कला तथा सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरू र समूहहरूसँग हाम्रा विचारहरू, अनुभवहरू र कलात्मक अभ्यासहरूको आदानप्रदान गर्न सक्छौँ ।”

सो स्थापना दिवस कार्यक्रममा नेपालमा तर्फबाट संस्थापक तथा अध्यक्ष श्रीदेव बिएल, संस्थापक तथा उपाध्यक्ष जीवन पराजुली, संस्थापक तथा सचिव सूर्यबहादुर रास्कोटी, संस्थापक तथा सदस्यहरू सारदा खड्का अर्याल र दीपक विष्ट गौलीले सहभागिता जनाए । सो कार्यक्रममा नेपाल च्यापरका मानार्थ सदस्य तथा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, मानार्थ सदस्य तथा नेपाल चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपाल कायस्थ, नेपाल चलचित्र कलाकार सङ्घका कोषाध्यक्ष सुनिल कटुवाल, नेपाल चलचित्र निर्माता सङ्घका सचिव किसान पोखरेल, नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष माधव प्रसाद तिवारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu