यतिबेला चलचित्र ‘कबड्डी’ चर्चामा छ। शुक्रवार रिलिज हुने यो चलचित्र ‘नोभेम्वर रेन’सँग लड्दै छ। यसअघि ‘लुट’ निर्देशन गरेका निश्चल बस्नेत र अमेरिकामा बसेर फिल्म मेकिङ् पढ्दै गरेका सुनिल रौनियारको लगानिमा यो चलचित्र बनेको छ। रामबाबु गुरुङ्ले निर्देशन गरेको यो चलचित्रमा निरश्चलले मुख्य भुमिका निभाएका छन्। उनिसँगै दयाहाङ् राई पनि मुख्य पात्र हुन्। ब्लकबस्टर चलचित्र निर्देशन गरेका बस्नेत निर्माण र अभिनयमा आएका छन्। यो बिषय अहिले चर्चामा छ। उनको भर्सटाईल क्षमता हेर्न दर्शक आतुर छन्। यतिबेला सम्म अमेरिका, अष्ट्रेलिया र युकेमा प्रदर्शनको सहमती भइसकेको यो चलचित्र ५० लाख बराबरको लगानिमा तयार भएको छ। यसै सन्दर्भमा निर्माता तथा कलाकार बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंशः
१. ‘लुट’ जस्तो सफल चलचित्र निर्देशन गरेको मान्छे अभिनय र निर्माणमा कसरी आउनुभो ?
यो पनि फिल्म मेकिङ्कै एक पाटो हो। निर्देशक मात्र भएर करिअर अगाडी बढाउनु भन्दा पनि व्यापारिक हिसाबले पनि हेर्नुपर्ने हुन्छ। त्यसकारण म निर्माता बनेको हो। मैले बनाउने चलचित्रमा केहि न केहि भिन्नताहरु छ। मैले विशुद्द मनोरञ्जनको लागि चलचित्र बनाईरहेको छु। मेरो लगानिमा अहिले बनिरहेका चलचित्रहरुमा निर्देशकहरुले आफ्नो ढंगबाट कथा भन्न चाहनुहुन्छ। अभिनयको कुरा गर्दा म झुक्किएर अभिनेता बनिरहेको छु। अभिनयमा आईसकेपछि टालटुल गर्ने भन्दा पनि राम्रो काम गर्ने कोशिस गरिरहेको छु।
२. कबड्डी बाहेक अरु चलचित्रमा पनि अभिनय गरिसक्नु भा’को छ। मुख्य अभिनेता बनिसक्दा पनि कसरी झुक्किएको भन्न मिल्छ र ?
‘फिटकिरी’मा अनुप बराल दाईले भन्नुभयो, मैले नकार्न सकिन। कबड्डीमा चाहिँ मैले लगानि मात्र गर्ने कुरा थियो। हामीले पात्र खोजिरहेका थियौँ। काले-काले, दुब्ले पातले खोजिरहेका थियौँ। दयाहाङ् राइ र रामबाबु दाईले सिकाएरै भएपनि मलाई अभिनय गराउनुभयो। सायद म पात्र सँग मेल खाएँ। मेरो चलचित्रको टिमले मलाई कलाकारनै बनाईदिनुभयो।
३. नायक हुनलाई अग्लो, कसिलो शरिर जस्ता गुणहरु हुनुपर्छ भन्छन्, कबड्डीले यसलाई ब्रेक गर्छ त ?
पछिल्लो समयमा यो मान्यता ब्रेक हुँदै आईरहेको छ। कबड्डीमा नै हेर्ने हो भने दयाहाङ् राई मोटे न मोटे हुनुहुन्छ म सिकुटे छु। चलिआएको मान्यता हेर्दा त यो चलचित्रमा केहि पनि छैन। तपाईले भनेजस्तो कलाकारले पनि क्यारेक्टरमा आउनको लागि रुप बिगार्ने गर्नुहुन्छ। अबको दिनमा चाहिँ हामीलाई चिटिक्क देखिने फिल्मी हिरोहरु चाहिँदैन जस्तो लाग्छ मलाई। कतिपय चलचित्र भने त्यस्ता प्रकारका पनि आउन सक्छन्। अहिले चलचित्रमा क्यारेक्टर खोज्ने चलन बढेको छ।
४. कबड्डीले के बोल्छ ?
कबड्डीले हसाउँछ। कथा साँस्कृतिक र मौलिक हो। थकाली समुदायको कल्चरमा मात्र सिमित नगरी आम दर्शकलाई मनोरञ्जन दिने हिसाबले कबड्डी बनाईएको छ। समाजमा भईरहेका केहि घटना यो चलचित्रमा समावेश छन्। रोमाञ्सकै वरिपरि घुमेको कथा छैन। गाली खाने बाटो थुप्रै छन् होला यो चलचित्रमा तर अहिलेसम्म जति सकिएको छ त्यती गरिएको छ। राम्रो बनाउने कोशिस छ, हेरिसकेपछि रमाईलो लाग्यो भन्ने वातावरण बन्छ सायद।
५. कुनै वर्गको सँस्कृतिलाई आधार बनाएर मुलधारको चलचित्र बनाउँदा लगानि कसरी सुरक्षित होला ?
नेपाल मात्र हाम्रो बजार होइन। संसारको जुन-जुन स्थानमा नेपाली छन् त्यहाँ-त्यहाँ हाम्रो बजार हो। त्यस हिसाबले पनि प्रचार-प्रसार भइरहेको छ। यो चलचित्र हेर्दा कल्चरल नलागोस्। निश्चित वर्गमा मात्र आधारित हुँदा सिमित दर्शक पाईन्छ तर त्यहि समाजको घटनालाई आम मानिसमा छुट्टै तवरले पुर्याआउँदा आम दर्शक पाईन्छ। कबड्डीमा उल्लेख हुने कुरा हाम्रै समाजका पाटा हुन्। जुनसुकै संस्कृती होस् हामी सबैले देखेकै छौँ। त्यसबाट सबैले मनोरञ्जन लिनुहुन्छ भन्ने लागेको छ। कल्चरल मा मात्र जाँदा सिमित दर्शक हुने हुँदा सबैलाई लक्षित गरि चलचित्र बनेको हो।
६. कबड्डीलाई तपाईँ आँफैले किन निर्देशन गर्नुभएन ?
लुट चलिरहेको बेला रामबाबु गुरुङ्सँग कुराकानी भयो। दया दाई र राम दाईको पहिलेदेखी नै कुराकानी भईरहेको थियो। कन्सेप्ट सुनाउनुभयो। मैले यो चलचित्रको लागि लगानि जुटाउने प्रतिबद्दता जनाएँ। अनि काम अगाडी बढेको थियो। म आँफै कलाकार भएपछि धेरै यो प्रश्न सोधिएको थियो। मैले कहिल्यै पनि यो चलचित्र निर्देशनमा आफु भए हुन्थ्यो भन्ने महशुस गरिन। रामदाई ले सिमित समुदायमा मात्र आफ्नो प्रतिभा देखाउन पाउनुभएको थियो। कबड्डीले उहाँलाई अझै फराकिलो बनाईदिएको छ। उहाँले नै ‘अनागरिक’ नामक चलचित्रबाट दया दाईलाई अगाडी ल्याउनुभएको हो। वृत्तचित्रहरु धेरै बनाउनुभएको छ।
७. कबड्डीको ट्रेलरमा त दुश्मन नै देखिनुहुन्छ, दयाहाङ् र तपाईको कति पुरानो र कस्तो सम्बन्ध हो ?
दया दाईसँगको सम्बन्ध लुटदेखी सुरु भएको हो। त्यसपछि म दया दाईसँग एकदम नजिक छु। दाई नै मान्छु मैले। व्यावसायिक जीवन देखी व्यक्तिगत सम्मका कुरा साटासाट हुन्छन्। हामी एकै आमाबाट जन्मेका होइनौँ तर अहिले यति नजिक छौँ की हामी दाजुभाई होइनौँ भन्ने कुरा कुनै पनि हिसाबबाट लागेको छैन।
८. रिल र रियल लाईफसँग तुलना गरौँ। चलचित्रमा एकजनाले ताकेको केटीलाई तपाईँले उडाउनुभएको छ। के साँच्चिकै तपाईँलाई यस्तो परेको छ त ?
स्कुल पढ्दाखेरी ‘कबड्डी’ कै पारा थियो। ठ्याक्कै चाहिँ होइन तर वैँश चढेको बेला एउटै केटीलाई २-३ जना केटाले मन पराउँथ्यौँ। म केटीको नजिक जान डराउथेँ, यस्तो कुरामा साथीभाई जस्तो थिइन। टाढैबाट हेरेर चित्त बुझाउथेँ। एकजना केटीलाई मैले पनि मन पराउथेँ, अरुले पनि मन पराउथे। यो सबैलाई थाहा थियो। मलाई सोझो या डराउने देखेर साथीहरु तैँले प्रपोज नगरे मैले गर्छुनित भन्दै तम्सिन्थे तर मैले त्यसो हुनबाट रोक्थेँ। नजिक पर्न डर लागेपछि मैले उनिहरुलाई नै चिठ्ठी पुर्याउन समेत लगाउथेँ।
फिल्मकै जसरी ठ्याक्कै नभएपनि ‘कबड्डी’मा भुमिका निभाईसकेपछि के-कस्तो हुने रहेछ भन्ने परिकल्पना, देखेकै घटना र सोचाईमा आउने घटनाहरुलाई जीवन्त र वास्तविकता झल्किने कसरी बनाउने भन्ने सोचबाट फिल्ममा यस्ता चिजहरु पाईन्छन्। सायद निर्देशक राम बाबु गुरुङ्गको अनुभव होला। संवाद पनि त्यस्तै तगडा-तगडा छन्। राम बाबु दाईको आफ्नै जीवनको कथा होइन तर यो कथा यथार्थ हो। लेखक पनि राम बाबु दाई नै हो त्यसकारण पनि लेखकले लेख्दा केहि कुरा आफ्नो घुसिरहेको नै हुन्छ। उहाँको पनि केहि न केहि वास्तविक अनुभव चाहिँ पक्कै छ।
९. कबड्डीले क-कस्ता चेतना छोड्छ ?
यो चलचित्र सन्देश मुलक भनेर पढाए जस्तो हुँदैन। सानो-सानो कुराहरुबाट केहि सन्देश दिन खोजिएको छ। बुझ्नेलाई ठिकै छ नबुजेमा गाली पनि खाइन्छ होला। हरेक चलचित्रमा सन्देश खोज्ने चलन छ। हामीले सटाएरको तरिकाले सन्देश प्रयोग गरेका छौँ।
१०. अन्त्यमा ?
निर्माता हुन साह्रै गाह्रो रहेछ अनि कलाकार हुन अझै गाह्रो। निर्देशनमा नै सजिलो रहेछ। व्यावसायिक, आर्थिक कुरामा मेरो दिमाग कम चल्छ। त्यसकारण पनि मलाई निर्माता गाह्रो लाग्यो। कलाकार हुनुपर्छ तर लगातार कलाकार बनेर मैले सक्दिन जस्तो लागिसक्यो। अब मैले सेलेक्टिब अभिनय मात्र गर्छु। देखिनको लागि मात्रै भन्दापनि छाप छोड्न सक्ने भुमिका होस्। चलचित्र कबड्डी हेरेर कमेण्ट गर्नुहोला।