नेपाली चलचित्र हलमा चलुन्जेल ५०-५० प्रतिशत शेयर बाँडफाँडमा सहमति



काठमाडौँ
नेपाल चलचित्र सङ्घ र नेपाल चलचित्र निर्माता सङ्घबिच नेपाली चलचित्र प्रदर्शनमा रहुन्जेल ५०-५० प्रतिशत शेयर बाँडफाँडमा सहमति जुटाएका छन् । बिहीबार भएको दुवै सङ्घको वार्ताले सो विषय टुङ्गो लगाउँदै बराबर शेयरमा सम्झौता गरेका हुन् ।

यो सहमति सँगै अब प्रदर्शनरत नेपाली चलचित्र ‘दिमाग खराब’ निरन्तर रहनेछ । यो चलचित्रका निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले हलसँग विमति राख्दै विभिन्न मागसहित चलचित्रको प्रदर्शन स्थगित गर्ने चेतावनी दिएपछि प्रदर्शक र निर्माताबिच रस्साकस्सी चलेको हो । संयुक्त वक्तव्य जारी गर्दै हलहरूले नेपाली चलचित्रलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको उनीहरूले बताएका थिए ।

उनीहरूले विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो सङ्ख्या र शेयर बाँडफाँड नगरेसम्म नेपालमा आफ्नो चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका थिए । साथै, पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुने तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने प्रथा हटाई तेस्रो हप्तादेखि पनि शेयर बाँडफाँड ५०-५० प्रतिशत हुनुपर्ने माग राखेका थिए । नेपाल चलचित्र निर्माता सङ्घले ‘दिमाग खराब’का मागमा ऐक्यबद्धता जनाएको थियो ।

वार्ता समितिमा चलचित्र सङ्घको तर्फबाट पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा र निर्माता सङ्घको तर्फबाट पूर्व महासचिव तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं रहेका थिए ।

चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गते रिलिज भएको थियो । यसको मध्य पूर्वी मुलुकहरूमा समेत प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu