आइर्वाट महिला चलचित्र महोत्सवले महिलालाई चलचित्रमा भविष्य देखाउनेछ: उपमेयर डङ्गोल



काठमाडौँ।
तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका छन् । सहकार्यसँगै महानगरपालिकाकी उप प्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताएकी छन् ।

यही मङ्सिर ९ गते हुने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा हुने सो महोत्सवको सफलताको कामना गर्दै डङ्गोलले यस महोत्सवले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने बताइन् । आइर्वाटले सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भनेकी छन्, “यस महोत्सवले धेरै भन्दा धेरै महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिनेछ । नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने आशा दिनेछ । त्यति मात्र नभएर धेरैलाई प्रोत्साहन र अवसर सँगसँगै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा आशा लिएका छौँ ।” उनले महोत्सवमा संसारभरका चलचित्रकर्मीहरू एकै ठाउँ हुने, एकसाथ सिक्ने, सिकाउने र उपलब्धि हासिल हुनेछ भन्ने आशा लिएको बताएकी छन् ।

फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्रकर्मीहरूको सहभागिता रहनेछ । सोही दिन नेपाली लघु चलचित्र प्रतियोगिताको समेत आयोजना गरिएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो । 

नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गर्न लागिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले बताइन् । आइवार्टले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu