चलचित्रको जाँच पासमा मेयर बालेनको चासो



काठमाडौँ।
केही समय अघि भारतीय चलचित्र ‘आदिपुरुष’लाई काठमाडौँ महानगरभित्र चल्न बन्देज लगाएपछि चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को गम्भीर चासो रहेको बुझिएको थियो । सितालाई भारतकी छोरी भन्दै इतिहासलाई बङ्ग्याएको भन्दै बालेनले सो चलचित्रको संवाद नसच्याएसम्म कामपा भित्रका हलमा बन्देज लगाएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेशपछि सो चलचित्र पुनः हलमा चलेको थियो ।

यसै साता बालेनले पुनः चलचित्रबारे चासो देखाएका छन् । मङ्सिर ४ गते चलचित्र जाँच पास समितिलाई अध्यक्षलाई एक पत्र लेख्दै उनले ‘चलचित्र जाँच पास समितिको कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याई जबाफदेही र पारदर्शी बनाएकोमा महानगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दै समाज र राष्ट्रसम्बन्धी चार वटा बुँदा उल्लेख गरी तीनलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । उनले ‘नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउने’, ‘पञ्चशीलता सिद्धान्त/शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएका प्रसारणमा रोक लगाउने’, ‘कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने’ र ‘कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने’ विषय बस्तुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।

पत्रमा बालेनले कार्यविधि अनुसार प्रतिबन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने बताएका छन् । पत्रमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माता सङ्घलाई बोधार्थ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu