‘शारदा’ मासिकको विशेषाङ्कमा गीतकार श्रेष्ठको हस्तलिपिमा ५६ वटा गीत प्रकाशन



काठमाडौँ।
साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रूपमा सक्रिय साहित्यकार, गीतकार तथा सर्जक सरला श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरू श्रेष्ठकै हस्तलिपिमा ‘शारदा’ मासिक पत्रिकामा प्रकाशित गरिएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व वल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वको उपस्थितिमा विशेषाङ्कको रूपमा प्रकाशित पत्रिकाको कार्तिक अङ्क लोकार्पण गरिएको छ । समारोहमा पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपिमा कुनै पनि पत्रिकामा विशेषाङ्क प्रकाशन गरेको यो नै पहिलो पटक भएको दाबी गरे ।

भौकाजीले श्रेष्ठका गीतहरूको समीक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरूको सङ्ख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–सङ्गीतमा निरन्तरता दिन सक्नु श्रेष्ठको ठुलो खुबी भएको जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैँमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गीत–सङ्गीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी सङ्कलन समाजका महासचिव बि पाण्डे, म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरूको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार श्रेष्ठले ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपिमा एकल गीति विशेषाङ्क प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको बताइन् । आफ्ना केही गीतहरू वाचन गर्दै उनले विदेशमा रहँदा सधैँ देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीर मात्र विदेशमा रहेको, तर मन र मुटु सधैँ स्वदेशमै रहेको बताइन् ।

लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रूपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।

सो समारोहमा एक युगल गीत ‘ए मेरो मनको राजा’ को भिडियो समेत प्रिमियर गरिएको थियो । गायक प्रमोद खरेल तथा गायिका अन्जु पन्तको युगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले सङ्गीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यसमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu