रोकिएन ‘दिमाग खराब’को प्रदर्शन, बुधवारको लागि वार्ता र प्रदर्शन जारी रहने



काठमाडौँ।
उल्लेख्य मात्रामा दर्शकको साथसहित प्रदर्शनरत नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन बुधवार निरन्तर रहने भएको छ । मङ्गलवार राती अबेरसम्म नखुलेका यस चलचित्रका शो बुधवार बिहान भने खुलेका छन् ।

मङ्गलवार गोप्य स्थानमा भएको वार्ताले ‘दिमाग खराब’ले माग गरेको तेस्रो हप्ता पछि पनि ५०-५० प्रतिशत शेयर निर्माता र हलले प्राप्त गर्नुपर्ने विषयमा टुङ्गो लगाउन सकेन । वार्ताले निष्कर्ष ननिकालेपछि बुधवार नेपाल चलचित्र सङ्घको कार्यालय विशालनगरमा पुनः वार्ता गर्ने तय भएको बताइएको छ । वार्ता र प्रदर्शन सँगसँगै जारी रहने गरी मङ्गलवार सहमति भएको बुझिएको छ ।

नेपाल चलचित्र सङ्घ र नेपाल चलचित्र निर्माता सङ्घले समिति बनाएर वार्तामा बसेका थिए । वार्ता समितिमा चलचित्र सङ्घको तर्फबाट पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा र निर्माता सङ्घको तर्फबाट पूर्व महासचिव तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं रहेका छन् ।

चलचित्र ‘दिमाग खराब’ले हलसँग विमति राख्दै विभिन्न मागसहित चलचित्रको प्रदर्शन स्थगित गर्ने चेतावनी दिएपछि प्रदर्शक र निर्माताबिच रस्साकस्सी चलेको हो । केही दिन अगाडी निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले संयुक्त वक्तव्य जारी गर्दै हलहरूले नेपाली चलचित्रलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको बताएका थिए ।

उनीहरूले विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो सङ्ख्या र शेयर बाँडफाँड नगरेसम्म नेपालमा आफ्नो चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका थिए । साथै, पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुने तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने प्रथा हटाई तेस्रो हप्तादेखि पनि शेयर बाँडफाँड ५०-५० प्रतिशत हुनुपर्ने माग राखेका थिए ।

नेपाल चलचित्र निर्माता सङ्घले ‘दिमाग खराब’का मागमा ऐक्यबद्धता जनाएको थियो । चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गते रिलिज भएको थियो । गत हप्तादेखि यसको मध्य पूर्वी मुलुकहरूमा समेत प्रदर्शन भइरहेको छ ।

यो पनि पढ्नुहोस्:

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu