‘दुई कदम’मा चुलबुले इओन



काठमाडौँ।
अभिनेता इओन लिम्बु आफ्नो पहिलो चलचित्र ‘दुई कदम’लाई लिएर निकै उत्साहित छन् । यही मङ्सिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको लागि उनी अहिले प्रचारप्रसारको दौडधुपमा रहेका छन् ।

हङकङमा जन्मिएर काठमाडौँमा हुर्किएका इओनले बाल्यकालदेखि नै अभिनयमा रुचि राख्थे । सो रुचिलाई व्यवहारमा उतार्ने कोसिसमा रहेका उनी हाल चलचित्र विषयमा नै अध्ययनरत छन् ।

पहिलो चलचित्र रिलिज हुने समय नजिकिँदै गर्दा इओनमा थोरै डर, धेरै उत्साह र खुसी महसुस गरिरहेका छन् । “बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा म निकै उत्साहित छु । हलको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज रहेनछ”, इओनले बताए ।

अभिनयमा आउनु अगाडी नै उनले पर्फेक्ट चलचित्र अभिनेता बन्नको लागि उनले सबै तयारी गरेको बताउँछन् । “छायाङ्कनको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो थियो । मैले सबै तयारी गरेरै सेटमा पुगेको थिएँ । पहिलो दिन नै गीतको छायाङ्कन भएकाले मेरा सिङ्गल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिँदा डर र उत्साह दुवै थियो”, लिम्बुले बताए । यो चलचित्रमा सिनियर कलाकारहरूसँग अभिनय गर्दा धेरै सिक्न पाएको उनले बताए ।

यो चलचित्रमा उनको भूमिका चुलबुले किशोर हो । साथीहरूसँग घुम्न रुचाउने सो पात्र जस्तै वास्तविक जीवनमा पनि आफू चुलबुले रहेको उनले बताए । आफूजस्तै कथामा अभिनय गर्न पाउँदा झनै सरल महसुस गरेको उनले जिकिर गरे ।

उदय सुब्बाको निर्देशनमा निर्माण भएको ‘दुई कदम’मा इओनका अलावा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । यसको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन् । यसको छायाङ्कन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायाङ्कन मुस्ताङमा गरिएको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन सिनेमामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu