सन्तोषको मेघा प्रोजेक्ट ‘बलिदान’को टिजर रिलिज



काठमाडौँ
छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् । टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिंग’ भनेका छन् । टिजर रिलिज गरिएता पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने लुकाइएको छ । दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए ।

सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युग जनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन । एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ । देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए । “समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौँ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष कसरी जन्माउँछ भन्ने विषयवस्तुमा हामीले चलचित्र बनाउने छौँ । त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौँ”, सेनले बताए ।

यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu