‘भष्मे डन’को सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा



दीपेन्द्र के. खनालद्वारा निर्देशित सफल चलचित्र ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । फूलपातीबाट प्रदर्शनमा आएको दोस्रो सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुक्रबार काठमाडौंमा आयोजित सफलताको सेलिब्रेसन कार्यक्रममा ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र के. खनालकै निर्देशन रहने चलचित्रमा खगेन्द्र लामिछानेको लेखन रहनेछ ।

टुकी आर्ट्सबाट रोजिना सिटौलाले चलचित्रको निर्माण गर्नेछिन् । निर्देशक खनालले कार्यक्रममा भने- ‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौं, त्यसलाई टुंग्याउनुपर्छ भन्ने हाम्रो निर्कौल हो । पहिलो र दोस्रो श्रृंखलामा कथा र पात्रहरु छरिएका छन् । त्यसैले हामीले उठाएको कथालाई हामीले नै टुंग्याउनुपर्छ । त्यसैले तेस्रो सिक्वेल बनाउन लागेका हौं ।’

दोस्रो सिक्वेल भष्मे डनको कथामा आधारित रहेको भए पनि तेस्रो सिक्वेलमा पशुपति प्रसाद पात्रको कथा आउने उनले प्रष्ट पारेका छन् । अर्थात् चलचित्रमा खगेन्द्रको पात्रलाई पुर्नस्थापित गराइनेछ । ‘भष्मे डन’को क्लाइमेक्सले पनि त्यसको संकेत भने गरेको थियो । चलचित्रमा पहिलो र दोस्रो श्रृंखलाका को-को कलाकार दोहोरिन्छन् भन्ने अहिले तय नभैसकेको निर्देशक खनालले बताए ।

चलचित्रलाई आगामी वर्ष छायांकन गरेर त्यही वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । लेखक लामिछानेले तेस्रो सिक्वेललाई तर्कसंगत, न्यायोचित र सुन्दर बनाउन प्रयास गर्ने बताएका छन् । निर्माण टिमले कलाकारबारे आधिकारिक घोषणा नगरेको भए पनि खगेन्द्रसँगै विपिन कार्की, वर्षा सिवाकोटी र स्वस्तिमा खड्काको पनि प्रमुख भूमिका रहने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu