निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’ले शुक्रबारबाट सार्वजनिक प्रदर्शन सुरु गरेको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको चलचित्रलाई मल्टीप्लेक्सहरुमा उच्च शोज प्राप्त छ । जुन चलचित्रका लागि बम्पर ओपनिङको अवसर हो ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको अभिनय छ । स्वयं निश्चल पनि विशेष भूमिकामा छन् ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । चलचित्रलाई काठमाडौंभित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गरेका छन् ।