कात्तिक १० गते बिहान पोखरास्थित नदीपुर-३ मा गाईका लागि घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका लोकप्रिय कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो ।
उनलाई अस्पतालले फलोअपका लागि एक हप्ताको अन्तरमा आउन भनेको छ । उनको टाउकोमा लागेको चोट पनि निको हुन थालेको अस्पतालले जनाएको छ । करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको जानकारी प्राप्त छ । उनलाई यही आइतबार आइसियूबाट वार्डमा सारिएको थियो ।
नाटकबाट अभिनय यात्रा सुरु गरेका उनले तीन दर्जन बढी नाटक छन् । ३७ वर्ष शिक्षण समेत गरेका उनी अभिनित चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शनरत छ भने ‘पशुपति प्रसाद’, ‘फन्को,’ ‘जात्रा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘पञ्चेबाजा’ दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । उनी निको भएपछि रामबाबु गुरुङको ‘डिग्री माइला’ र प्रदीप भट्टराईको ‘महाजात्रा’मा व्यस्त हुनेछन् ।