तिहारको अवसर पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत रिलिज गरिएको छ । बुधबार सार्वजनिक चलचित्रको ‘हजुरी’ बोलको मर्मस्पर्शी गीतमा जयन जे वाइवाको शब्द रचना तथा संगीत छ भने गायनमा वाइवालाई मीना निरौलाले साथ दिएकी छन् । यो गीतले फिल्मका प्रमुख दुई पात्र खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काको पीडा बोलेको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र र स्वस्तिमाका साथै दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेतको पनि चलचित्रमा विशेष भूमिका छ ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । चलचित्रलाई काठमाडौंभित्र गोविन्द शाही र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।