आज रिलिज हुने भनिएको ‘बलिदान’को टिजर स्थगन, सन्तोषले गरे भूकम्प पीडितलाई सहयोग घोषणा



काठमाडौँ।
निर्माणाधीन चलचित्र ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेनले आज रिलिज हुने भनिएको पहिलो टिजर रिलिज स्थगन गरेका छन् । केही दिन देखि काउन्टडाउन सहित प्रचार भएको टिजर रिलिज स्थगन जाजरकोट र रुकुम पश्चिममा भूकम्पको कारण रहेको उनले बताएका छन् ।

शनिवार सोसल मिडियामार्फत उनले भनेका छन्, “हामीले भोली सार्वजनिक गर्ने भनिएको नयाँ चलचित्र बलिदानको पहिलो टिजर केही समयको लागि स्थगित गर्ने निर्णय गरेका छौँ ।”

सेनले आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको समेत बताएका छन् । उनले भनेका छन्, “थोपा–थोपा मिलेर सागर बन्छ भनेजस्तै हामी पनि एउटा सानो सहयोग स्वरूप आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौँ । हरेक नेपालीले जसले आआफ्नो स्थानबाट सहयोग गर्नुभएको छ, सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ । राहत तथा उद्धार कार्यमा प्रधानमन्त्रीको तर्फबाट भएको एक्सनलाई प्रशंसा गर्दै नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा अन्य निकाय अहोरात्र खटिरहनु भएको छ हामी कृतज्ञ छौँ ।”

उनले फेसबुकमा लेखेका छन्, “जाजरकोट रुकुम पश्चिम क्षेत्र फेरी उठ्ने छ…।जाजरकोट र रुकुम पश्चिममा गए राती प्राकृतिक प्रकोप विनाशकारी ‘भूकम्प’मा परी सयौँ जनाको दुःखद निधन भयो सयौँ सङ्ख्यामा नागरिक घाइते अवस्थामा छटपटाई रहनुभएको छ । मृतक आत्माको चिर शान्तिको कामना सहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ! यस विपत्तिबाट सयौँ परिवार घरबार विहीन हुनुभएको छ !

यो घटनाले सम्पूर्ण नेपालीहरूको मन रोएको छ ! हामी पनि भावह्विल भएका छौँ । यस प्रकारको पिडा र रोदनबाट अत्यन्तै जटिल अवस्थामा गुज्रिरहेको ठुलो विपत्तिबाट उठ्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ । त्यहाँका नागरिकहरूको रोएको मनमा मल्हम लगाउन अत्यावश्यक छ ।”

केही दिन अघि शीर्षक सहितको ‘थिम लुक’ सार्वजनिक गर्दै यो मेघा प्रोजेक्ट २०८१ सालको दसैँमा रिलिज हुने घोषणा गरिएको थियो । नेपाली चलचित्रको श्रेष्ठ सिरिज ‘प्रेम गीत’ सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक सुरुवात गरेका सन्तोष सेनले निर्माण तथा निर्देशन गर्ने यस चलचित्रको छायाङ्कन भने भएको छैन ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् । ‘बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu