![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2023/10/Bharat-Regmi-Film-Editor-768x490.png?resize=720%2C459&ssl=1)
काठमाडौँ।
लन्डनमा आयोजना भएको ६७ औँ संस्करणको ‘बिएफआई लन्डन फिल्म फेस्टिभल’मा सहभागिता जनाएका चलचित्र सम्पादक भरत रेग्मीले नेपाली चलचित्रकर्मीहरू ‘लोकल कम्युनिटी’ भन्दा बाहिर जान नसकेको महसुस गरेको बताएका छन् । फेस्टिभलमा सहभागिता जनाएपछि रेग्मीले सो फेस्टिभलमा दक्षिण एसियाका अन्य सबै देशहरूका चलचित्रहरूले प्रतिस्पर्धामा सहभागिता जनाएको देखेपछि यस्तो धारणा राखेका हुन् ।
उनी नेपाली चलचित्रकर्मीको प्रतिनिधिको रूपमा मात्रै व्यक्तिगत पहलमा सो महोत्सवमा सहभागिता जनाएका थिए । रेग्मीले आफूले सो महोत्सवबाट निकै धेरै ज्ञान लिन पाएको तर नेपाली चलचित्रहरूको सहभागिता नदेख्दा अत्यन्त दुख लागेको बताए ।
“हामी हाम्रो ‘लोकल कम्युनिटी’ भन्दा बाहिर निस्कनै सकेका रहेनछौँ । नेपालबाहेक अन्य प्राय: सबै दक्षिण एसियाली मुलुकहरूबाट एक न एक चलचित्र फेस्टिभलमा सहभागी छन् । नेपालको चलचित्र एउटा पनि देखिएन ।” उनले भने, “बेलायतमा बसेर चलचित्र विषयमा अध्ययन गर्ने धेरै नेपालीहरू हुनुहुन्छ, त्यहाँ बसेर चलचित्र बनाउने पनि धेरै हुनुहुन्छ तर, त्यति ठुलो फेस्टिभलमा कसैलाई देखिएन र कुनै चलचित्र पनि सहभागी थिएन ।”
रेग्मी नेपाली चलचित्र तथा म्युजिक भिडियोका अग्रणी सम्पादक हुन् । यस वर्षको फेस्टिभलमा आयोजकले विश्वभर चलचित्रमा काम गर्ने व्यक्तित्वहरूलाई डेलिगेटको रूपमा छनोट गरेको थियो । डेलिगेटहरूको लागि मात्र अलग्गै स्क्रिनिंगको व्यवस्था गरेको र आफूले पनि चलचित्रहरूलाई मत दिएको रेग्मीले बताए । उनले आफूले यो तहसम्मको व्यवस्थापनमा फेस्टिभल हुन्छन् भनेर पहिले कहिल्यै कल्पना नगरेको बताए ।
यो फेस्टिभल ब्रिटिस चलचित्र इन्स्टिच्युटको सहकार्यमा लन्डनमा प्रत्येक वर्ष आयोजना हुन्छ । यस वर्षको फेस्टिभलमा विश्वभरका ७० भन्दा बढी देशका २४० वटा फिचर चलचित्र र १५० वटा लघु चलचित्रहरू सहभागी भएका थिए ।