काठमाडौँ।
साङ्गीतिक पाक्षिक पत्रिका म्युजिक खबरको सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न स्रष्टाहरू सम्मानित भएका छन् । वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्युजिक खबर विशिष्ट स्रष्टा’ , प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायक, शान्ति श्री परियारलाई उत्कृष्ट वर्ष गायिका, दीपक शर्मालाई वर्ष सङ्गीतकारबाट सम्मानित गरियो । त्यसै गरी, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री र एरेन्जर नरेन्द्र वियोगी पनि सम्मानित भए । सञ्चार क्षेत्रबाट पत्रकार नीराजन भण्डारी सम्मानित भए भने म्युजिक खबर व्यवसायी सम्मानबाट इन्द्रेणी स्वीट होटेल एवं इन्द्रेणी कप्लेक्सका सञ्चालक शम्भु श्रेष्ठ सम्मानित भए ।
साथै, म्युजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह सम्मानित भइन् भने युवा पत्रकार सम्मानबाट रश्मि थापा र जीना कार्कीलाई सम्मानित गरियो । म्युजिक खबर सङ्गीत सम्मानबाट सङ्गीतकार सुभाष प्रधान, म्युजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार सम्मानित भए भने मोडल अनिता गिरीलाई म्युजिक खबर कला सम्मानबाट सम्मानित गरियो । त्यस्तै, सीबी माउन्ट फ्रेमिङका सञ्चालक च्याङ्बा लामालाई व्यवसायी सम्मान प्रदान गरियो भने कार्यक्रम प्रस्तोताको सम्मान सेसेमी लिम्बुलाई प्रदान गरियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार सङ्घका अध्यक्ष शर्मिला गुरुङ, एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी सङ्कलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा वरिष्ठ गायक दुर्गा रायमाझी लगायतको उपस्थिति थियो ।
काठमाडौँको बालुवाटार स्थित नेपाल हाउसमा आयोजित कार्यक्रममा पूर्व उपकुलपति बास्कोटाले म्युजिक खबरले सम्पूर्ण सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरे । म्युजिक खबरका अध्यक्ष सुमन बैरागीले सम्पूर्ण गायक, गायिका, सङ्गीतकार, गीतकार, सङ्गीतकर्मीहरूको माया र सद्भावले म्युजिक खबरले ७ वर्ष लामो यात्रा तय गर्न सकेकोमा खुसी व्यक्त गरे ।