काठमाडौँ।
काठमाडौँको दरबारमार्ग स्थित कासा लाउञ्जमा दसैँ विशेष साङ्गीतिक साँझ आयोजना हुने भएको छ । घटस्थापनाको अघिल्लो दिन ‘दसैँ आयो’ शीर्षकमा आयोजना हुने कार्यक्रममा नेपालका अग्रज पप गायक गायक हरिश माथेमाले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
‘आँखाको नानी हौ तिमी’, ‘केही सोधेर तिमीलाई मैले’, ‘स्वप्निल रङ्गमा रङ्गिएकी तिमी’ जस्ता दर्जनौँ गीतका सर्जक तथा गायक माथेमालाई सो कार्यक्रममा ‘विदेश जाने मायालु तिमीलाई’ जस्ता सदाबहार गीतका गायक तथा सङ्गीतकार दीपक थापाले साथ दिनेछन् । यो साङ्गीतिक प्रस्तुतिभन्दा अघि कासा लाउञ्जको हाउस ब्यान्ड हिमालयन कासाले रमाइलो प्रस्तुति दिनेछ भने द भ्वाइस अफ नेपालका सञ्चालक सुशील नेपालले कार्यक्रम सञ्चालन गर्नेछन् ।
दसैँलाई साङ्गीतिक रूपमा स्वागत गर्ने उद्देश्यले लाउञ्जले आफ्ना ग्राहक, शुभचिन्तक तथा इष्टमित्रहरूसँग एक आपसमा दसैँको शुभकामना साटासाट गर्ने उद्देश्य यो कार्यक्रम आयोजना गर्न लागेको सञ्चालक रामप्यारा श्रेष्ठले बताए ।
कासालाई पारिवारिक वातावरण सहितको लाउञ्जको रूपमा चिनिन्छ ।