काठमाडौँ।
‘इन्डियन आइडल’को चौधौँ संस्करणको अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक प्राप्त गरेकी छन् । उनले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गीत गाउँदै निर्णायकहरूको दिल जितेकी हुन् । तीनै जना निर्णायकहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिए ।
दृष्टिबिहिन मेनुकालाई निर्णायकले ‘कोसँग आएको?’ भनेर सोधेको प्रश्नमा एक्लै आएको बताइन् । उनले साईबाबाको दर्शन गरी आशीर्वाद लिएर आएको बताउँदै आफूले खाना पकाउने, यात्रामा जाने लगायत सबै काम गर्न सक्ने बताइन् ।
पौडेलले गाइरहँदा दुई निर्णायकहरू विशाल डिडलानी र श्रेया घोसाल भक्कानिएका थिए । मेनुकाले गाइसकेपछि कुमार सानुसहित तीनै जना निर्णायकले उठेर सम्मान गरे । सो क्रममा विशालले आफूले सधैँ पुज्ने गरेको वास्तविक सङ्गीत आफ्नै अगाडी रहेको बताउँदै सङ्गीतसँग मनैदेखि क्षमा मागेको जनाए । साथै उनले आजको बनाउने सङ्गीत फरक हुने र त्यसको कारण मेनुका भएको बताए ।
त्यस्तै श्रेयाले अहिलेसम्म इन्डियन आइडलको मञ्चमा यति सुन्दर गायन पहिलो पटक भएको बताउँदै आफूहरूभित्रको सङ्गीतप्रतिको स्पष्टता जगाइदिएको बताइन् ।
मेनुकाले २०७४ सालमा ‘नेपाल आइडल’मा समेत प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै उनी २०७५ सालमा भारतको ‘सारेगमप’मा समेत सहभागी थिइन् ।