काठमाडौँ।
नजिकिँदै गरेको दसैँको अवसर पारेर न्युजिल्याण्डका ४ सहरहरूमा ‘दसैँ धमाका’ कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा गायक प्रमोद खरेल, मेलिना राई र हास्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरूलाई मनोरञ्जन दिलाउने छन् ।
आयोजक संस्था ‘लाखे इभेन्ट’ले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिएको छ । न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको बताउँदै गायक खरेलले यो दसैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन् । एडमन्ड हिलारीको देशको रूपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए ।
हास्य कलाकार कार्कीले आफ्नो जीवनको पहिलो दसैँ दर्शकहरूसँग हुने भएको हुँदा उत्साहित भएको बताए । घर परिवारसँग यसपालि दसैँ मनाउन नपाउने भएता पनि दर्शकसँग मायाले ऊर्जा दिनेमा विश्वास रहेको बताए ।