काठमाडौँ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चलचित्र देशको आर्थिक विकासको मेरुदण्ड रहेको बताएका छन् । शनिवार आयोजित चलचित्र ‘बालापन’को प्रिमियर शो मा मन्तव्य राख्दै किराँतीले चलचित्रले समाजलाई चित्रण गर्ने बताउँदै यसको व्यावसायिक पाटोले देशलाई आर्थिक समुन्नत बनाउने बताउँदै यस क्षेत्रको विकासमा सरकारको चासो रहिरहेको जनाए । चलचित्र ‘बालापन’ले पनि हाम्रो समाजमा देखिएको कुरालाई यथार्थ चित्रण गरेको मन्त्री किराँतीले बताए ।
प्रिमियरमा सहभागी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औँल्याए ।
निर्माता हट मिलन राईले यो चलचित्र विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । उनले नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, हङकङ, युएईलगायतका देशहरूमा चलचित्रको प्रिमियर गर्ने बताए ।
शिव आर जीको निर्देशन रहेको चलचित्रमा सबिन श्रेष्ठ, प्रियङ्का कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनिल थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकार द्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।